प्रदेश १ का निरन्तर उम्मेदवार

जो २०४८ सालदेखि सधैँ शक्तिमा छन्

विराटनगर । आगामी मङ्सिर ४ गतेको आम निर्वाचन नजिकिँदै गर्दा दलहरूमा रस्साकस्सी छ । समानुपातिकको बन्दसूची बुझाउने समय निर्वाचन आयोगले असोज २ गतेसम्मलाई तोकेको छ ।

आफ्ना नजिकका, नातागोता खोजीमा देखिएका नेताहरू कसलाई समानुपातिक सांसद बनाउने भन्ने ध्याउन्नमा छन् । दल भित्र वर्षौँदेखि निरन्तर त्याग र योगदान गर्दै आएका नेताहरू पनि आफ्नो नाम पर्छ कि, टिकट पो पाईहालिन्छ की ! भनेर यतिबेला सङ्घीय राजधानी काठमाडौँमा छन् । पहिलो बार्गेनिङ प्रत्यक्ष निर्वाचनको लागि गर्ने नभएपनि समानुपातिकको बन्दसूचीमा नाम हाल्नको लागि दबाब दिने समूह सबैभन्दा धेरै नेपाली काँग्रेसमा देखिन्छन् ।

त्यसपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी हुँदै नेकपा एकीकृत समाजवादीसम्म आउँदा कुनै दल पनि त्याग र योगदानलाई भन्दापनि आफू निकटलाई टिकट दिने गरेको आरोपबाट अछुत छैनन् । पुराना नेताहरू भने २०४८ सालदेखि नै घाटले मुर्दा रुँघेर बसेझैँ निर्वाचन क्षेत्र ओगटेर बसेको आरोप पनि कार्यकर्ता तहबाट लाग्ने गरेको छ। २०४८ सालदेखि एउटै व्यक्ति उठ्ने र अन्य कार्यकर्तालाई पाखा लगाउने कामहरू भएको देखिन्छ ।

२०४८ सालमा उम्मेदवार भएर निर्वाचन जितेका तिनै नेता अहिले आएर पनि निर्वाचित हुन्छु, नभए हार्छु भन्ने मानसिकताबाट अघि बढेको देखिन्छ । त्यस्तै मानसिकता बोकेका केही नेताहरूलाई यहाँ उदाहरणको रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

६ पटक चुनाव जिते, १८ पटक मन्त्री भए
विजयकुमार गच्छदारले लगातार ६ वटा चुनावमा कुनैमा पनि हारेनन् । उनी सधैँ जित्नै मै परे । चाहे धाँधली गरेर होस् या नागरिकलाई प्रभावमा पारेर नै किन नहोस् चुनावमा हार्नु हुन्न जित्नै पर्छ भन्ने मानसिकताबाट अघि बढेका व्यक्ति हुन् गच्छदार ।

गच्छदारले जितेका ६ मध्ये चार वटा चुनाव नेपाली काँग्रेसको चुनाव चिन्हबाट जितेका हुन् भने एउटा मधेसी जनअधिकार फोरम र अर्को मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नाममा थियो । वि.सं. २०४८, २०५१, २०५६ र २०७४ मा चारवटा निर्वाचन नेपाली काँग्रेस, २०६४ मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट चुनाव जिते ।

गच्छदार २०४८ सालदेखि २०७४ सालसम्म१८ पटक मन्त्री बनेका गच्छदार २०७४ सालमा सुनसरी क्षेत्र नम्बर ३ बाट झिनो मतले मात्र एमालेकी नेतृ भगवती चौधरीलाई पराजित गरेका थिए । निर्वाचनमा धाँधली भएको आरोपमा गच्छदार विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

कहिले जित्ने कहिले हार्ने
इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठ्ने तयारी गर्दै गरेका झलनाथ खनाल निरन्तर निर्वाचित हुने सांसदमा पर्छन् । वि.सं. २०४८ र २०५१ सालको निर्वाचनमा उनले नेपाली काँग्रेसका तोयनाथ भट्टराईलाई पराजित गरे भने वि.सं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईँसँग पराजित भए ।

संसद् पुनः स्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईँलाई र वि.सं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा इलाम-१ बाट ३६ हजार ८०७ मत ल्याएर विजयी भएका थिए । काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत ल्याएका थिए ।

कहिल्यै नहारेका नेम्वाङ
प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्व सभामुखसमेत रहेका सुवास नेम्वाङको यो पटक पनि विजयी भए भने उनको विजयी यात्रा पाँचौँ पटकको हुनेछ । नेकपा (एमाले) उपाध्यक्ष रहेका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरेका थिए ।

संविधानसभामा दुईपटक सभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनः स्थापित संसद्को सभामुख बनेका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । २०७४ सालको निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट ९ हजार ६५४ मतान्तर अर्थात् ३६ हजार ५१४ मत प्राप्त गरेर विजयी भएका थिए । उनले काँग्रेसका केशव थापालाई हराएका हुन् ।

ओलीलाई उर्वर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर ५ निक्कै उर्वर देखिएको छ । ओलीले प्रतिनिधि सभामा २०४८, २०५१, २०५६, र २०७४मा निर्वाचित भएका थिए । आम निर्वाचन २०५६मा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। संविधानसभा निर्वाचन, २०६४मा उनले पराजय बेहोरे ।२०४८

मा झापा ६बाट निर्वाचित भएका ओली २०५१ मा पनि सोही क्षेत्र रोजे । २०५६ सालमा झापा २ र ६ रोजेका ओली दुवै निर्वाचन क्षेत्रबाट जितेका थिए । लगातार जित्दै आएका ओलीको लागि २०६४ साल प्रत्युत्पादक बन्यो । संविधान सभा निर्वाचन २०६४मा झापा ७ बाट नेकपा माओवादीका विश्वदिप लिङ्देन लिम्बुसँग ओली पराजित भए । उनले २०७० सालमा पनि सोही क्षेत्र रोजे । देश सङ्घीयतामा गएपछिको पहिलो निर्वाचन २०७४ सालमा ओली झापा ५ बाट ५७ हजार १३९ मत ल्याएर नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरेका थिए ।

सिटौलाको उतारचढाव तर निरन्तरका उम्मेदवार
नेपाली काँग्रेसको राजनीति इतिहासमा कृष्णप्रसाद सिटौलाको निरन्तर उतार चढाव देखिन्छ । बि.सं.२०४८ वैशाख २९ गते सम्पन्न निर्वाचनमा झापा-१ बाट सिटौलालाई एमालेका द्रोणप्रसाद आचार्यले पराजित गरे । २०५० सालमा आचार्यको निधन भएपछि रिक्त स्थानमामा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गर्दै उनी एमालेको लालकिल्ला तोडेर सांसदको यात्रा तय गर्न सफल भए ।

२०५१ कात्तिक २९ गते सम्पन्न मध्यावधि निर्वाचनमा सिटौला झापा-३ बाट एमालेका पुष्प पोखरेलसँग पराजित भए । २०५६ वैशाखमा भएको निर्वाचनमा झापा-३ बाट उनले फेरी उम्मेदवारी दिए र एमाले उम्मेदवार नारायण राजवंशीलाई पराजित गरे ।

२०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनी फेरी सोही क्षेत्रबाट उम्मेदवार बन्दा माओवादीका पूर्णप्रसाद राजवंशीले पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा-३ मा उम्मेदवार बनेका सिटौलाले राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गर्दै संसद्को यात्रा तय गरे । २०७४ सालको संसदीय निर्वाचनमा भने उनलाई सोही क्षेत्रबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले बदला लिएर पराजित गरिदिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सिटौला गठबन्धनको तर्फबाट उम्मेदवार हुँदैछन् ।

सिट बाँडफाँड समितिको संयोजकको समेत जिम्मेवारी पाएका सिटौला यो चुनावमा जित्नैपर्ने मनस्थितिमा छन् । यो पटकको निर्वाचनमा पनि लिङ्देन र सिटौला बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय लिङ्देनको बढ्दो क्रेजले पनि सिटौला त्रास मानसिकतामा देखिएका छन् ।

शुरुमा एमालेसँग हारे त्यसपछि लगातार जिते
उदयपुरको क्षेत्र नम्बर १ बाट निरन्तर चुनाव जित्दै आएका व्यक्ति हुन् नारायण खड्का । खड्का झन्डै तीन दशकदेखि काँग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी पछिल्ला तीन आमनिर्वाचनमा लगातार उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भइरहेका छन् ।

खड्का २०५६ सालको आमनिर्वाचनमा उदयपुरबाट चुनाव उठे पनि त्यसबेला एमालेसँग पराजित भए । त्यसपछि २०६४, २०७० र २०७४ सालमा उदयपुरबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निरन्तर उनले जित्दै आएका छन् । अहिलेका परराष्ट्रमन्त्री खडका विकास निर्माणको विषयमा भने विवादमा पर्दै आएका छन् । विभिन्न समयमा शिलान्यास गरेका पुलहरु अहिले पनि नबनेको भन्दै नेता कार्यकर्तामा मात्र हैन बिपक्षीले आलोचना गर्दै आएका छन् ।

काँग्रेसको गढ भत्काउने नेता
लालबाबु पण्डित नेकपा एमालेसँग आबद्ध एक नेता हुन् । उनी विगत दुई कार्यकाल नेपाल सरकार अन्तर्गत सामान्य प्रशासन मन्त्री भए । कहिले समानुपातिकबाट संसद्मा पुगे भने कहिले कहलिएका नेतालाई हराएर उनले मन्त्री हुने मौका पाए ।

पण्डित २०४८, र २०५६ सालमा मोरङ क्षेत्र नम्बर ३ मा निर्वाचित भएका थिए । मोरङ क्षेत्र नम्बर ३ बाट २०५१ सालमा उनी नेपाली कांग्रेसका बद्री बस्नेत पराजित भए । २०६४ सालमा समानुपातिकबाट संविधान सभामा प्रतिनिधित्व गर्ने मौका पाएका पण्डित २०७४ सालको निर्वाचनमा उनी मोरङ ६ बाट नेपाली कांग्रेसका डा शेखर कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पण्डितले ३३९४१ मत प्राप्त गर्दा डा.कोइरालाले ३३२६६ मत पाएका थिए । सधैँ काँग्रेसले जितिरहेको क्षेत्रबाट चुनाव जितेपछि पण्डितको चर्चा थप चुलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *