मैथिली र थारु समुदायले जितिया पर्व मनाउँदै

विराटनगर । तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले मनाउने महान् चाड जितिया पर्व आज धूमधामका साथ मनाईँदै छ । यो पर्व प्रदेश नं. १ सहित तराई-मधेसका जिल्लामा धूमधामका साथ मनाइन्छ ।

सन्तानको दीर्घायुका लागि बस्ने भनिएको यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन गरिन्छ ।

यस व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रूपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुसँग जोडिएको छ ।

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको मानिन्छ । यो तराई-मधेसको महत्त्वपूर्ण लोक पर्व हो ।

जितिया पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जितिया पर्वको सुखद अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *