५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ५८ औँ राष्ट्रिय बाल दिवस, बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बाल अधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले बलात्कार र हत्याको संख्या बढ्दै गएको अवस्थामा सरकारमा रहने व्यक्तिका साथै अन्य सरोकारवाला लगायत अभिभावक गम्भीर हुनुपर्ने बताइन् ।

उनले उमेर घटाएर मात्रै बालिकामाथि हुने हिंसाको अन्त्य हुन नसक्ने धारणा राखिन् । त्यस्तै मन्त्री रेग्मीले बाल सुधार गृहलाई पनि कारागार जस्तो नभई बालमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

मुलुकको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर बाल अधिकारको पहुँचको मुद्दाको भने बेलाबखतमा बहस हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =