धनगढी पुगेर अनसन थाल्दै डा. केसी, यस्ता छन् माग
२०७९ भदौ २७ गते

काठमाडौँ । सत्याग्रही डाक्टर गोविन्द केसी सोमवार (आजदेखि) अनसन बस्ने भएका छन् ।
उनी धनगढी पुगेर अनसन बस्ने भएका हुन् । उनी आजै अनसन बस्न त्यसतर्फ लागेका छन् । उनले साँझबाट अनसन थाल्ने बुझिएको छ ।
उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राख्दै केही दिनअघि सरकारको ध्यानाकर्षण गराएका थिए । उनले ती माग पूरा नभए अनसन थाल्ने चेतावनी समेत सरकारलाई दिएका थिए ।
उनी कुन ठाउँमा अनसन बस्ने भन्नेबारे खुलेको छैन । यद्यपि उनी कुनै सरकारी अस्पतालबाट अनसन थाल्नसक्ने बुझिएको छ ।
यस्ता छन् उनका मागः
- तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।
- जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् । संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।
- सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् ।
- स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षाक्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरूको नियुक्ति गरियोस् ।
- सरकारी स्वास्थ्य संस्थाहरूका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरू बन्द गरेर दोषीहरूलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई गैरचिकित्सक नभई चिकित्सकहरूको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।
- स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस् ।
- सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।
- प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्भा
- गवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरू तत्काल सच्याइयोस् । प्रतिष्ठानका उपकुलपतिलगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गरियोस् ।
- चिकित्सा शिक्षा ऐन बमोजिम विसं। २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैर नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस् । मापदण्ड नपुगेका नर्सिंग कलेजमा भर्नाखुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको नाजायज संशोधन प्रयास तत्काल बन्द गरियोस् ।
- जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल पनि पर्दछ । डिजेल तथा पेट्रोल गाडीका कारण तेल आयातमा देशको खर्वो रुपैयाँ बाहिरी रहेको अवस्था छ । तसर्थ विद्युतीय गाडीहरूको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरियोस् ।
२०७९ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित








