बुटवलबाट हराएका तीन बालक भारतकाे मुम्बईमा भेटिए, भने- ‘बेहाेश बनाएर ल्याइयाे’

काठमाडाैँ । बुटवलबाट हराएका तीन बालबालिकाहरू भारतकाे मुम्बईमा भेटिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका घर भएका उनीहरू विद्यालय जाँदा हराएका थिए । उनीहरू मुम्बईमा भेटिएका प्रहरीले जनाएकाे छ ।
बुटवल उपमहानगरपालिका ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ जाने क्रममा बेपत्ता भएपछि शुक्रबार साँझबाट उनीहरूकाे खाेजीकार्य तीव्र बनाइएकाे थियाे । त्यसक्रममा उनीहरू मुम्बईमा भेटिएका हुन् । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसीकाअनुसार उनीहरू अहिले सुरक्षित रहेका छन् ।
समीरले शनिवार दिउँसो करिब २ बजे आफन्तलाई फेसबूक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको बताएका थिए । आफूहरूले आफूहरूलाई बेहाेश बनाएर ल्याएकाे बताएका छन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।








