अब टेकुमा फोहोर थुप्रिने छैन

काठमाडौँ । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेसनको फोहाेर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्याइने भएको छ ।

चार महिनादेखि अल्पकालीन व्यवस्थापनका लागि टेकुमा थुपारिएको फोहर बिहीबार सकिएको छ । यसअघि थुपारिएको फोहर सकिएकाले आगामी दिनमा नागरिककका घरबाट निस्किएका सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ । अब यसअघिझैँ टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ ।

लामो समयदेखिको फोहाेर व्यवस्थापनको काम सकिएकाले यसअघिझैँ फोहाेरका कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहिने फोहाेर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन् ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि चार महिनादेखि काठमाडाैँ उपत्यकाको फोहाेर टेकुमा अल्पकालीन व्यवस्थापन गर्ने गरिको थियो ।

उपत्यकाको फोहाेर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चारबुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहाेर व्यवस्थापन सुरु भएको थियो ।

गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमित उपत्यकाको फोहाेर व्यवस्थापनको काम हुन सकेको थिएन । लामो सयम नियमित फोहाेर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेसनमा फोहाेरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहाेरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =