सन्दीपको सन्देश- ‘म निर्दोष छु, कानुनप्रति भरोसा छ’

काठमाडौँ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलात्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् । सामाजिक सञ्जालमार्फत आफू स्वदेश फर्किन लागेको जानकारी दिएका हुन् ।

बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै उनले नेपालको कानुनप्रति भरोसा रहेको बताए । ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णतः विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केही दिनमा आफ्नो देश फर्कनेछु,’ उनले भनेका छन्, ‘म आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’

एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि बिहीबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले बिहीबार नै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरिसकेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *