मेयर रेनुलाई प्रश्न : नारायणगढमा कहिले बन्छ अटो ल्याण्ड ?

चितवन । भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढमा अटोल्याण्ड बनाउने भन्ने विषयले चर्चा पाउन थालेको तीन वर्ष भइसकेको छ । तर, प्रक्रिया अघि बढ्न सकेको छैन । भरतपुर महानगरले अटो ल्याण्ड बनाउन प्रक्रिया अघि बढेको दाबी गरे पनि अटो व्यवसायीहरू कुरामात्र हुने गरेको बताउँछन् । भरतपुर महानगर प्रमुख रेनु दाहाललाई भरतपुरमा बन्ने भनिएको अटो ल्याण्ड कहिले बन्छ ? भनेर प्रश्न गरिएकाे छ ।

चितवन अटो मेकानिकल व्यवसायी संघका रजत जयन्तीको अवसरमा गररिएको कार्यक्रममा अटो व्यवसायीहरूले नारायणगढमा बन्छ भनेको अटोल्याण्ड कहिले बन्छ भनेर प्रश्न गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री श्रेष्ठले भरतपुरमा अटो ल्याण्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह गरे । भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाँकी आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीको कार्यालयको तर्फबाट आफूले सहयोग गर्ने उनले बताए । विश्वमा मेकानिक्सहरूको माग बढ्दै गएकोले दक्ष मेकानिक्सहरू उत्पादन गरी अटो क्षेत्रलाई व्यवस्थित गर्न पनि भरतपुर क्षेत्रमा अटो ल्याण्डकाे आवश्यक रहेको श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरबाट अटो ल्याण्ड निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताए । महानगर अटो ल्याण्ड बनाउने सवालमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै उनले त्यसका लागि संघ र प्रदेशमा जान परे पनि तयार रहेको बताए ।

भरतपुर महानगर वडा नं. ३ को नारायणीको मझुवा क्षेत्रमा अटो ल्याण्ड बनाउने विषयमा महानगरमा अघिल्लो कार्यकालमा पनि छलफल भएको र अहिले त्यसको वातावरणीय प्रभावको बारेमा अध्ययन र अनुसन्धान भइरहेको बताए । यसको प्राकृतिक, भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रभावबारे थप छलफल गरेर निर्णय गर्नुपर्ने उनी बताउँछन् । नेपाल अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेले नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्ने बताए । नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रक्रियामा सबैलाई सहयोग गर्न पनि अनुरोध गरे । अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उनको तर्क थियाे । उनले एक शहर एक अटो ल्याण्डको अवधारणा ल्याइएको पनि बताए ।

समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अटो मेकानिकल व्यवसायी एक हुनुपर्नेमा जोड दिए । अबको २५,३० वर्ष पछिको भरतपुर महानगरलाई अटोको क्षेत्रमा कस्तो बनाउने भनेर काम गर्नतिर लाग्न सम्पूर्ण अटो मेकानिकलहरूको ध्यानाकर्षण गराए । खनालले अटो ल्याण्ड निर्माणका लागि नेपाली कांग्रेस चितवन जुनसुकै सहयोग गर्न तयार रहेको पनि बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता द्रोणबावु सिवाकोटीले पार्टीले अटो ल्याण्ड निर्माणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

संस्थाका पुर्व अध्यक्ष गोपाल भटराईले चितवनमा मेकानिक्ससम्बन्धी अध्ययनको पनि व्यवस्था मिलाउन आफूहरू सफल बनेको बताए । जिल्लामा अटो ल्याण्ड नहुँदा व्यवसायीहरूले निकै दु:ख र कष्टका साथ निकै चुनौतीको सामना गर्दै व्यवसाय गर्न बाध्य हुनुपरेको संस्थाका पूर्वअध्यक्ष बलराम भण्डारीले बताए । समारोहमा संस्थाका पूर्वअध्यक्षहरू सल्लाहकारहरू तथा विविध क्षेत्रमा सहयोग पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियाे । त्यस्तै रजत महोत्सवको अवसरमा रजत स्मारिकाको पनि बिमोचन गरिएको थियाे । संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *