विदेशी मुद्रा आर्जन गर्ने खालका पूर्वाधारमा लगानी गर्नुपर्छ : डा. खतिवडा

काठमाडौँ । विदेशी मुद्रा आर्जन गर्ने खालका पूर्वाधारमा लगानी गर्नु पर्ने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । काठमाडौँको होटेल सोल्टीमा बिहीबारबाट सुरु भएको नेपाल इन्फ्रास्टक्टर समिट २०२२ को उद्घाटन समारोहमा मन्तव्य राख्दै यस्तो बताएका हुन् ।

‘लगानी गर्दा यस्ता ठाउँमा पनि लगानी गरौँ जहाँको सेवा बेचेर विदेशी मुद्रा पनि आर्जन गर्न सकियोस्,’ कार्यक्रममा उनले भने, ‘पर्यटन पूर्वाधार, जलविद्युत पूर्वाधार, हवाइ पूर्वाधार जस्ता यातायात क्षेत्र र अन्य धेरै पूर्वाधार हुन सक्छन् । जहाँ लगानी गरेर विदेशी मुद्रा पनि आर्जन गर्न सकिन्छ । जसले गर्दा विदेशबाट लिएको ऋण तिर्न सकिन्छ ।’

लगानीका लागि बीमा, बजारमा आधारित पूर्वाधार जस्ता क्षेत्रमा लगानी बढाउनु पर्ने उनले बताए । यस्ता क्षेत्रको विकासका लागि पार्टनरसीप र फाइनान्सिङमा विश्वासिलो वातावरण हुनु आवश्यक रहेका उनले बताए । ‘अरुलाई मात्र जोखिम हस्तान्तरण गर्न खोज्नुभयो भने यसले काम गर्दैन,’ उनले भने, ‘अरुलाई मात्र जोखिम दिन खोज्ने हो भने समस्या सँधै रहन्छ र जोखिम पनि सँधै रहिरहन्छ । यसमा इक्विटी पार्टनर वा ऋण लगानी जुन पनि हुनसक्छ ।’

सार्वजनिक–निजी साझेदारी (पीपीपी) पनि पूर्वाधार विकासको राम्रो मोडल भएको उनले बताए ।

‘तर, हाम्रो सन्दर्भमा सँधै पीपीपी मोडलले किन काम गर्दैन ?,’ उनले भने, ‘किन भने हाम्रो विश्वासिलो पार्टनरसिपमा सँधै प्रश्न आउँछ । हाम्रोमा असफल भएका पीपीपी मोडलमा प्रायः जोखिम आरुलाई मात्र दिने यही समस्या भएका छन् ।’

पूर्वाधार विकासमा हेजिङको पनि समस्या रहेको उनको भनाइ छ ।

‘एक्सजेन्च रेट फेरबदलले हाम्रो जस्तो मुलुकलाई सँधै विदेशी मुद्रा सञ्चितिमा समस्या बल्झिरहन्छ,’ उनले भने, ‘हाम्रोमा राम्रो कानुन र हेजिङ मेकानिजम छैन । हेजिङ मेकानिजम सँधै पारदर्शी, विकाशील र दिगो हुनुपर्छ । विदेशी लगानीकर्तालाई समस्या र झन्झटमात्र राखेर हुँदैन र जति पनि जोखिम छन् ति सबै लगानीकर्ता देशलाई मात्र जिम्मेवारी दिनुहुँदैन । हेजिङ मेकानिजममा अनेष्ट हुनुपर्छ ।’

नेपालले प्रत्येक वर्ष २० हजार बिलियन रुपैयाँ पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।

‘लगानीको लागि युरोपियन सेन्टर बैंक, डोनरहरु र अन्य निजी लगानीकर्ता पनि लगानी ल्याउने ठाउँ छन्,’ उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि लगानी ल्याइरहेका छौँ । हामीले ऋण वा अनुदानमात्र होइन, भेन्चर क्यापिटलबाट इक्विटी सेयर पनि ल्याउनु पर्छ । यो सबैभन्दा राम्रो जोखिम सेयरिङको विधि हो । यदि ऋणमात्र लिएका छौँ भने जोखिम आफैँमात्र लिनुपर्छ ।
त्यसैले मैले भनिरहेको छु हामीले जति पनि साझेदारी संस्था वा देशसँग काम गरिरहेका छौँ कृपया इक्विटी सेयर लगानीबाट पनि आइदिनुस् ।’

सेयर बजार पनि पूर्वाधारमा लगानीका लागि महत्वपूर्ण क्षेत्र भएको उनले बताए ।

‘सेयर बजार पनि छ तर यो अझै सानो घेरा र सतहीमा छ,’ उनले भने, ‘अहिले केही मोबिलाइज भए पनि लागनीको आकार सानो छ । अब हामीले सेयर बजारलाई विभिन्न तरिकाले खुला गर्न सक्छौं । जस्तो कि शुरुवाति चरणमा संस्थागत लगानीकर्ताका लागि ।’

प्रत्यक्ष विदेशी लगानी(एफडीआई), ऋण, साझेदारी देशसँगको सहकार्य र स्थानीय निकायसँगको सहकार्यमा पनि पूर्वाधारमा लगानी गर्न सकिने उनले बताए ।

‘लगानीको विभिन्न विधि र तरिकाहरु उपलब्ध छन्,’ उनले भने, ‘तर, हामीले यसलाई कसरी अगाडि बढाउँछौँ भन्नेमा निर्भर रहन्छ ।’

पहिला नेपाल सरकारले कानुनी तथा नियामक कार्यढाँचाहरु अद्यावधिक गर्नु आवश्यक रहेको उनले बताए ।

‘औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा पूर्वाधार हस्तान्तरण ऐन, पीपीपी ऐन बनायौँ तर अरु केही ऐनहरु बनाउन र संशोधन गर्न बाँकी छन्,’ उनले भने, ‘जस्तो कि कम्पनी ऐन, बौद्धिक सम्पत्तीसम्बन्धी ऐन, हेजिङ एक्ट जस्ता ऐनहरु संशोधन गर्न आवश्यक छ ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *