के गठबन्धन छाेड्दैछन् उपेन्द्र यादव ?

काठमाडाैँ । केपी शर्मा ओलीकाे दुई-दुईपटक संसद् विघटन गर्ने असंवैधानिक कदमविरुद्ध एकठाउँमा उभिएका पाँच दल अहिले आएर आपसकाे घाँडाे बनेका छन् ।मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लिएर गठबन्धनसम्बद्ध दलहरूबीच बढी सिट लिने रस्साकस्सी नै चलेकाे छ । खासगरी गठबन्धनमा रहेका मझाैला दलहरू नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) चिढिएका छन् । उनीहरूले गठबन्धन नै छाड्नेसम्मकाे चेतावनी दिइरहेका छन् । आफूले दाबी गरेबमाेजिमकाे सिट संख्या नपाएपछि उनीहरूले यस्ताे चेतावनी दिइरहेका छन् ।

यसैबीच उपेन्द्रले भने गठबन्धन छाड्ने संकेत गरेका छन् । उनले आजमात्रै न्यायाेचित सिट बाँडफाँट नभए गठबन्धनकाे अर्थ नहुने बताएका छन् । वीरगञ्ज पुगेका उनले भनेका छन्, ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने त्यसखाले गठबन्धनको कुनै अर्थ रहँदैन । सबै दललाई वीन्-वीन् हुनेगरी अगाडि बढ्नुपर्छ । हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुङ्गिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छाैँ ।’

यद्यपि जसपाले २५ सिट जसरी भएपनि पाउनुपर्ने दाेहाेर्‍याउँदै आएकाे छ । उपेन्द्रले गठबन्धनका बैठकहरूमा भन्ने गरेका छन्— ‘तपाईंहरूले मधेश प्रदेशमा जित्ने होइन । अहिले पनि हामीसँग १० सिट सुरक्षित छ । मिलेन र यहाँबाट पनि पेल्न खोजियो भने बरु हामी आफैँ निर्वाचनमा जान्छौँ ।’

अहिले सिट बाँडफाँट कार्यदलकाे बैठक बालुवाटारमा जारी छ । बैठकबाट सहमति खाेज्ने र सहमति नजुटे आफूहरू बाहिरन पनि सक्ने जसपाका एक नेताले बताए । उपेन्द्रले आफूहरूकाे दाबी २५ रहेकाे भएपनि कम्तीमा २२ सिटभन्दा तल नझर्ने र त्यसपछि पनि पेल्न खाेजे आफूहरू एक्लै निर्वाचनमा हाेमिने बताउँदै आएका छन् । ती नेताले पनि यही दाेहाेर्‍याए, भने— ‘सम्भवत: एक्लै चुनाव लड्ने तयारीसमेत थाल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’

उसाे त उपेन्द्रले प्रमुख प्रतिपक्ष दल एमालेसँगकाे दूरी पनि बढाएका छैनन् । ठूल्ठूला दलहरू एकातर्फ हुँदा र आफू एक्लै हुँदा स-साना दलहरूसँग चुनावी तालमेल गर्ने रणनीति अपनाएकाे एमालेले जसपाका केही नेताहरूसँग अनाैपचारिक वार्तासमेत गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =