शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ७ः१७ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हाे ।

मुख्य जात्रा शुक्रबार हुने भएपनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु हुनेझ । मूल पुजारीद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थानसँगै बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ ।

भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशीका दिन भदौ २४ शुक्रबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ ।

त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ २५ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइनेछ । भदौ २९ गते नानिचा यात्रा गराइने विधि रहेको छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ ।

यस वर्ष भदौ २९ गते राति ७ः३३ बजे लिङ्गो ढाल्ने साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगलले जानकारी दिए ।जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्वदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिन्छ । अर्को किम्वदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ ।

प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो ।

प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ । नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *