नेता बहिस्कार गरिएको वडामा मेयर कोइरालाको कसरत

विराटनगर । विकास निर्माणको बारेमा स्थानीयको कुरा नसुनेको भन्दै नेता बहिस्कार गरेका विराटनगर ५ का नागरिकलाई सम्झाउन मेयर पुगेका छन् । चुनाव नजिकिँदै गर्दा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयसँग छलफल गरेका हुन् ।

हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका सुने । ठेकेदारको लापरबाहीका कारण विराटनगर-५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन ।

मेयर कोइरालाकै अग्रसरतामा पटक-पटक ठेकेदारसित छलफल गर्दा पनि निर्माणले गति लिन नसकेपछि मंगलबार नै पुनः छलफलसमेत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा ठेकेदारलाई बोलाएर छलफल गरिएको हो । छलफलपछि मेयर कोइराला प्रभावित स्थानीयको गुनासो सुन्न जामुनगाछी पुगेका थिए । सडक नबन्दा  दुःख पाएको स्थानीयले मेयर कोइरालासित सडक बनाउने विषयमा महानगरपालिका सहित सरकारले बेवास्ता गरेको बताए ।

हुलाकी सडकका विषयमा आफू निकै चिन्तित भएको बताएका कोइरालाले महानगरबाट उपेक्षा नगरिएको बताए ।  ‘तपाईँहरूलाई लाग्दो हो मेयर आनन्दले बसेको छ, तर त्यसो होइन मेरो ठाउँबाट धेरै नै पहल गरिरहेको छु । यो सडक महानगरले बनाउने होइन । हुलाकी सडक आयोजनाले बनाउने हो,’ उनले भने, ‘महानगरको मेयर चुप लागेर बस्ने कुरा आउँदैन ।’

त्यसअघि मेयर कोइरालाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सम्बन्धित वडाका वडाध्यक्ष र ठेकेदारसित छलफल गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले पनि अब तोकिएको समयभित्र काम नभए प्रहरी लगाएर थुन्ने चेतावनी दिएका थिए ।

विराटनगरको बरगाछि पश्चिमको क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाउन सकेको छैन । राजमार्ग पूर्वी क्षेत्रमा विकासले गति लिएको भएपनि पश्चिम क्षेत्रमा उपेक्षा गरिएको भन्दै स्थानीयले पटक पटक विकासको काममा ध्यान दिन आग्रह गर्दै आएका थिए ।  सरकारहरूले बेवास्ता गरेपछि स्थानीयले जामुनगाछि क्षेत्रमा नेता बहिस्कार अभियान चलाएका थिए ।

सङ्घीय चुनाव मङ्सिर ४ गतेलाई तोकिएपछि अहिले कार्यकर्ता खुसी पार्नका लागि नेताहरू त्यो क्षेत्रमा कसरी पस्ने भन्ने योजना बनाउन थालेका छन् । डा शेखर कोइराला र लालबाबु पण्डितको क्षेत्र भनेर चिनिएको यो क्षेत्रमा नेतालाई प्रवेश गराउने र गतिविधि बढाउन कसरी सहज बनाउने भन्नेमा मेयर कोइरालाको भूमिका देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *