अब समाजले भन्ने छैन ‘छोरीले केही गर्न सक्दैनन्’ भनेर !

धनगढी । एउटा जमाना थियो, जत्तिबेला सन्तानका रूपमा छोरी पाउँदा/जन्माउँदा स्वयम् बुवाआमा नै दुखी हुन्थे । सामाजिक/पारिवारिक कथन र मान्यताका चपेटामा परेका उनीहरू यो सोच्न बाध्य हुन्थे— छोराजत्ति कहिल्यै छोरी पुग्दिनन् ।

त्यत्तिबेला सामाजिक कथनहरू अनेकन् हुन्थे । छोरा भए बुवाआमालाई बुढेसकालमा पाल्छन्, छोरा भए मर्दापर्दा काम लाग्छन्, छोरा भए एकदिन पढे/लेखेर ठूलो मान्छे भएर बुवाआमाको नाम राख्छन्; यस्तै यस्तै कैयन् कथनहरू । जसले जन्मैदेखि छोरालाई ‘सूपेरियर’ र छोरीलाई कमजोरको रूपमा प्रस्तुत गर्थे । सँगै भनिन्थ्यो— छोरी अरुको घर जाने ‘जात’ हो । उनीहरूलाई नपढाउँदा पनि हुन्छ, सामाजिक काम/काजमा सहभागी नगराउँदा पनि हुन्छ, बस् उनीहरूलाई घरायसी काम सिकाउनुपर्छ । यसको धङधङी अझै पनि यदाकदा नभेटिने होइन, तर पहिलेकाे मात्रामा अहिले धेरै गुणा सुधारात्मक देखिन्छ ।

समय परिवर्तनशील छ र व्यक्ति-समाजसँगै विभिन्न संरचनाहरूलाई परिवर्तन गराएको छ । योसँगसँगै सोचाइ, बुझाइ र गराइहरूमा पनि सकारात्मक परिवर्तन देखिँदै आएको छ । अब छोरी जन्माउँदा स्वयम् बुवाआमाहरू दुखीचाहिँ हुँदैनन् । उनीहरूलाई पढाउने, सिकाउने र मद्दत गर्ने आमप्रवृत्ति पनि बढेको छ । जुन साँच्चै सकारात्मक कुरा हो ।

त्यसो त यी नै परिवर्तनलाई आफ्नो बलियो धरातल मानेर ठिङ्ग उभिएका छोरीहरू पनि भेटिन्छन् । देशमा मात्रै होइन, विदेशमा समेत राष्ट्रको नाम चम्काउने छोरीहरूप्रति बुवाआमाहरू ठूलो गर्व गर्छन् । गर्व नहोस् पनि कसरी ? तिनैले नाम चम्काएका छन्, जसलाई हिजो निश्चित काममा सीमित उद्धारता दिएर लगाइन्थ्यो र कमजोर ठानिन्थ्यो ।

यो आलेखमा तिनै केही सफल छोरीहरूको सङ्घर्ष र जीवनको कथाबारे लेखिएको छ । यो प्रस्तुत छ ।

लक्ष्मी श्रेष्ठ, रेफ्री

धेरैलाई लाग्छ, खेल क्षेत्रमा लाग्नेहरू पढे/लेखेका हुँदैनन्, पढे/लेखेकाहरू लाग्दै लाग्दैनन् । तर, लक्ष्मी श्रेष्ठको कथा अलिक फरक छ । कैलालीको धनगढी उपमहानगरपालिका ५ की लक्ष्मीले न पढिन् मात्रै, न खेलिन् मात्रै अर्थात् उनी दुवै विधामा अब्बल छन् ।

बुवा धर्मबहादुर श्रेष्ठ र आमा मीनदेवी श्रेष्ठको साइली छोरीको रूपमा विसं २०४९ पौष १२ गते जन्मिएकी लक्ष्मी इन्जिनियर मात्रै होइनन्, उनी एक सफल रेफ्री पनि हुन् । खेल क्षेत्रमै बढी व्यस्त रहने लक्ष्मी तिनै महिलाहरूमध्ये एक हुन्, जसलाई हिजो समाजले नै कमजाेर ‘जात’का रूपमा अर्थ्याउँथ्याे । उसो त लक्ष्मी फुटबल रेफ्री हुन्, जो नेपालमा ‘रेअर’ भेटिन्छन् । भारतको आन्ध्र प्रदेशस्थित केएल विश्वविद्यालयबाट र्‍याडर एण्ड कम्युनिकेशन इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्किएपछि उनीसामु भविष्य सुरक्षित गर्ने धेरै अवसरहरू थिए । तर, सानैदेखि खेल क्षेत्रमा बढी लगाव भएकी लक्ष्मी अन्ततः फुटबलर हुँदै रेफ्री भइन् । “धेरैलाई लाग्छ खेल खेलेर जीवन चलाउन सकिँदैन । त्यसैले यो क्षेत्रमा पढे/लेखेका व्यक्तिहरू आउँदैनन् । तर यथार्थ यो होइन, यो क्षेत्रमा पढे/लेखेका व्यत्ति पनि आउँछन् र आउनुपर्छ र जीवन चलाउन सकिन्छ भन्ने प्रमाणित गरेकी छु,” उनले भनिन् ।

घर धनगढी भएपनि उनी त्यहाँ कमै भेटिन्छिन् । २०६९ सालयता एन्फा रेफ्रीको ‘ब्याच’ लिएकी उनी त्यसयता नेपालमा हुने प्रायः खेल खेलाउन दौडधुपमा रहन्छिन् । पछिल्लो समय फुटबल प्रतियोगिताको आयोजना बढेकाले महिला रेफ्रीहरूका लागि पनि आकर्षणको क्षेत्र बन्दै गएको उनी बताउँछिन् ।

उनले भर्खरै यूरोपेली राष्ट्र डेनमार्कमा आयोजना भएको अन्तर्राष्ट्रिय डाना कप प्रतियोगितामा पनि सहभागिता जनाइन् । उनको सफलतामा बुवाआमाकै ठूलो हात छ । छोरी भनेर कहिल्यै हेलाको दृष्टिले अभिभाकले नहेरेको उनी बताउँछिन् । “विगतमा छोरी अर्काको घर जाने सम्पत्ति भनेर उनीहरूलाई विद्यालयसम्म पनि पठाइन्थेनन् । अहिले अभिभावकले छोरीलाई हेर्ने, उनीहरूलाई हुर्काउने व्यवहारमा परिवर्तन भएको छ । त्यसैले त छोरीहरूले देश अनि विदेशमा पनि बुवाआमाको नाम चम्काउन सकेका छन्,” लक्ष्मीले भनिन् ।

सङ्गीता धामी, कुस्ती

सुदूरपश्चिम एउटा यस्ताे ठाउँ हाे, जहाँ खेल क्षेत्रलाई निकै हेलाकाे दृष्टिले हेरिन्थ्याे । उसाे त खेल क्षेत्रकाे भविष्यबारे कसले साेचाेस् ? खेल खेलेरै जीवन धान्छु भन्ने खेलाडीहरू पनि थिएनन्, अभिभावकहरूले त आफ्ना छाेराछाेरीहरूलाई खेल क्षेत्रमा लगाउने कुरा साेच्नसमेत सक्दैन थिए, यसाे भनाैँ— समाज ‘बील्डअप’ नै उसैगरी भएकाे थियाे । त्यही पुस्ता र पङ्क्तिकी सङ्गीता धामी भने फरकखाले निस्किइन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी सङ्गीताले आफ्नाे ‘करिअर’ त्यही क्षेत्रमा देखिन्, जहाँ अरुले देख्दैन थिए ।

विसं २०५७ साल असोज ८ गते आमा धनादेवी धामी र बुवा नन्दसिंह धामीकी साइली सन्तानका रूपमा जन्मिएकी सङ्गीता अरुलाई पनि खेल क्षेत्रसँग निकटता बढाउन आह्वान गर्छिन् । “अहिले त प्राथमिक स्तरका कक्षाहरूमा पनि खेल खेलाइन्छ, अतिरिक्त क्रियाकलापहरू गराइन्छ । ऊबेला ८ कक्षासम्म कुनै पनि खेल खेलाइँदैन थियो । तर, अहिले त निकै सजिलो छ यस क्षेत्रमा आउनका लागि । खेल क्षेत्रतिर सानैदेखि रुचि भएपनि न विद्यालयमा नत गाउँमा नै खेल खेल्न पाइन्थ्यो,” सङ्गीता सुनाउँछिन् ।

कक्षा ९ मा उनी भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेको भृकुटी माध्यमिक विद्यालयमा भर्ना भइन् । त्यहाँ भने उनले विभिन्न खेलमा सहभागी हुने अवसर पाइन्/जनाइन् । विद्यालयमा बेला-बेला हुने सबैजसो खेलहरू कबड्डी, दौड, जम्प, म्युजिकल चेयरलगायतका अन्य सबैजसो खेलमा उनी सहभागी हुन्थिन् र प्रायः खेलहरूमा कुनै न कुनै स्थान हासिल गर्थिन् । जसले उनकाे खेलप्रतिकाे लगाव देखाउँथ्याे ।

कक्षा १० मा पढ्दै गर्दा उनले कुस्ती सिक्नका लागि अवसर पाइन् । एकदिन विद्यालयमा नै आएर केही गुरुहरूले कुस्ती खेल्न इच्छुकहरूका लागि सिकाउने कुरा गरेपछि उनी कुस्ती सिक्नका लागि जान थालिन् । “दिउँसो विद्यालय हुन्थ्यो । विद्यालय भ्याएर म हरेक साँझ कुस्ती सिक्न जान्थे,” सङ्गीतालाई सम्झना छ, “अरु खेल सिक्न पैसा लाग्थ्यो । यसमा मलाई निःशुल्क सिक्ने अवसर मिल्यो र सिकियो पनि ।” कुस्ती सिक्दै गर्दा उनले जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । जहाँ गएपनि उनले प्रथम र दोस्रो स्थान नै हासिल गरिन् । जुन उनको खेल ‘करिअर’ कै एक सुन्दर रूप थियो ।

विसं २०७२ सालमा भक्तपुरमा भएको राष्ट्रियस्तरको कुस्ती खेल्नका लागि उनले मौका पाइन् । त्यहाँ उनले गोल्डमेडल प्राप्त गरिन् । त्यो उनका लागि राष्ट्रियस्तरको खेल मात्रै थिएन, जीवनकै एउटा ठूलो प्राप्ति पनि थियो । विसं २०७६ सालमा दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ उनले नेपाललाई स्वर्ण पदक दिलाइन् । उनलाई गृहनगरमा सम्मान पनि गरिएको थियो । त्यसपछि पनि उनले विभिन्न ठाउँमा गएर अग्रस्थान नै हासिल गरिरहेकी छन् । खेल क्षेत्रबाट नै उनले अहिलेसम्म आफ्नो र परिवारको खर्च जोहो गरिरहेकी छिन् । ‘खेल क्षेत्रमा पैसा छैन । सुन्दर भविष्य छैन भन्थेँ । मैले भने नाम र दाम दुवै कमाएकी छु,’ सङ्गीतालाई गर्व छ ।

घरमा बुवाआमाकी साइली सन्तानका रुपमा जन्मिएकी उनका २ दिदी र एक बहिनी छिन् । बुवाले छोरीहरू मात्रै भए भनेर अर्को विवाह गरेर बसेको उनले बताइन् । ‘अहिले समाजमा मेरी आमाका सामु जब कोही मेरो नाम सम्मानका साथ लिन्छन्, मेरी आमाको छाती गर्वले फुल्छ” उनले भनेकी छन्, ‘छोरीका नामले पनि आमा चिनिन सक्छिन् भनेर देखाउन सकेँ । मेरा लागि जीवनमा यो भन्दा ठूलो उपलब्धि केही हुन सक्दैन । योभन्दा ठूलो गोल्डमेडल मेरा लागि अरु केही हुन सक्दैन ।’
सङ्गीताकी आमा धनादेवीलाई सङ्गीताजस्तो छोरी पाएकोमा गर्व छ । “आर्थिकरूपमा हाम्रो परिवार विपन्न हाे । मलाई सुरुवातमा त छोरीले पढेर कुनै सरकारी जागिर खाइदिए हुन्थ्यो पनि लाग्थ्यो । तर, छोरीको रुचि सानैदेखि खेलमा भएको र त्यो क्षेत्रमा सानैदेखि प्रगति गरिरहेको देखेर मैले छोरीलाई साथ दिएँ । भैंसी पालेर छोरीलाई पढाएँ, छोरीको खेलको खर्च जुटाएँ । अहिले छोरीले खेल जितेर नाम र दाम दिएकी छे, खुसी लागेको छ,” उनले भनेकी छन् ।

उनकाअनुसार विगतमा पनि छोरीहरूले राम्रो गर्न सक्ने भएपनि अवसर नपाएका हुन् । अहिले भने अभिभावकको छोरीलाई हेर्ने नजर फेरिएको छ । उनी भन्छिन्, ‘हाम्रो पालामा विद्यालय जान्छु भन्दा छोरी पराइ घर जाने जात हो भनेर भन्थे । किन पढाउनुपर्‍याे (?) भनेर प्रश्नहरू गर्थे । अहिले छोरीका सपनाको पनि कदर हुन थालेको छ । अहिलेका त छोरीहरू पनि भाग्यमानी हुन्,’ उनले भनेकी छन्, ‘अहिले अभिभावकले छोराछोरीलाई गर्ने व्यवहार समानजस्तै हुने गरेको छ । छोराछोरीले निभाउने कर्तव्य पनि समान जस्तै हुने गरेको छ ।’

संगीताले आगामी दिनमा पनि आफ्नो खेल क्षेत्रलाई निरन्तर अगाडि बढाउने सोच लिएकी छन् । कहिलेकाहीँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुँदा प्रतिभावान् खेलाडीलाई अवसर दिएको नपाउँदा भने उनलाई दुःख लाग्ने गरेको छ । उनले भनिन, “ठूला प्रतियोगिताहरू हुन्छन् । हामी छनौट हुन्छौँ भनेर तयारी गरेर बसेका हुन्छौँ । तर हामी अवसरबाट पन्छिनु परेको देखिन्छ । त्यति बेला भने दुःख लाग्छ,” उनले भनेकी छन् ।

अहिले उनी सरकारले गण्डकी प्रदेशमा आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा छिन ।

मनिषा उपाध्याय, क्रिकेटर

सुदूरपश्चिम प्रदेशको सुगम जिल्ला मानिन्छन् कैलाली र कञ्चनपुर । तर, यी दुई जिल्लामा पनि खेल क्षेत्र र खेलाडीलाई अघि बढाउने खालका गतिविधि भएको देखिँदैन । अझ पहाडी जिल्लाको अवस्था त झनै दयनीय छ । जहाँ न खेल्न मैदानको व्यवस्था हुन्छ, नत त धेरैजसो अभिभावकले सन्तानलाई खेल क्षेत्रमा लाग्न प्रेरित गरेको साथ दिएको देखिन्छ । त्यहीँ ठाउँमा जन्म भएको हो, मनिष उपाध्यायको ।

तर, अवसर पाए क्षमता भएकाहरूले जुनसुकै क्षेत्रमा पनि राम्रै गर्छन्, जसको उदाहरण हुन् मनिषा । बझाङको जयपृथ्वी नगरपालिकाकी बासिन्दा मनिषाले २०७६ सालमा प्रधानमन्त्री कप क्रिकेट खेलिन् । २ वर्षपछि, २०७८ सालमा यही खेलमा उनले गण्डकी प्रदेशबाट खेलिन् ।

सोही वर्ष भएको मुख्यमन्त्री कप यू-१९ महिला क्रिकेट प्रतियोगितामा मनिषाले गण्डकी प्रदेशको कप्तानी सम्हालिन् । उनको टिमले उपाधि जित्यो । सुदूरपश्चिम जहाँ छोरीलाई हेलाको दृष्टिले हेरिन्छ भन्ने छाप धेरैमा देखिन्छ । यही ठाउँमा जन्मिएकी मनिषाको राष्ट्रिय क्रिकेट टिमसम्मको यात्रामा उनकी आमा धनाको ठूलो हात छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *