प्रदेश १ मा मानव बेचबिखनको जालो : एक वर्षमा १,११२ जनाको उद्धार

विराटनगर । प्रदेश १ मा मा ५ हजार भन्दा बढी महिला तथा बालबालिकालाई सीमा नाकामा रोकिएको छ । आर्थिक वर्ष २०७८/०७९को असार मसान्तसम्ममा विभिन्न सीमा क्षेत्रमा काम गर्ने संघ संस्थाले सीमा क्षेत्रबाट ५ हजार ७ सय २१ जनालाई सीमा नाकामा रोकिएको तथ्यांक सार्वजनिक गरिएको हो ।

माइती नेपाल मोरङको आयोजनामा विराटनगरको रानीमा मानव बेचबिखन विरुद्धको सोह्रौँ राष्ट्रिय दिवसको अवसरमा आयोजित मानव बेचबिखन विरुद्धको सीमा अभियान कार्यक्रममा सीमामा १ हजार १ सय १२ जनाको विभिन्न क्षेत्रबाट उद्धार भएको जानकारी दिइएको थियो ।

उद्धार भएकाहरूमा माइती नेपालले १८ जना , साना हातहरूको ९ जना, आफन्त नेपालले ८१५ जना, सिविन ३८ जना र बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४ ले ५९ जनाको उद्धार भएको कार्यक्रममा अध्यक्ष तथा माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।

‘प्रदेश १ का सीमा नाकामा बसेर मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियान चलाएका संस्थाका तथ्यांकहरूमा हराएका ३३४ जनाको तथ्यांक आएको छ’, उनले भने, ‘तथ्यांकका आधारमा भेटिनेहरूको संख्या १७२ जना छन् ।’ प्रदेश १ मा मानव बेचबिखनविरुद्ध २३ वटा मुद्दा प्रहरी र विभिन्न संघ संस्था मार्फत दर्ता भएको उनले जानकारी दिए ।

विराटनगरको रानीमा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसार पसार विरुद्धको सीमा अभियानको क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङ जिल्लाका सीमा क्षेत्र अति संवेदनशील भएको बताए ।

सीमा क्षेत्रबाट मानव ओसारपसार गर्ने गिरोह अन्तर्राष्ट्रिय स्तरको हुने गरेको उनको भनाई छ । सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा संघसंस्थासँगै नागरिकको भूमिका हुने बताए ।

सीमा क्षेत्रमा नागरिक तहबाट पनि मानव बेचबिखन विरुद्धको निगरानी गरेर यस्ता गतिविधिलाई रोक्नुपर्नेमा दाहालले जोड थियो । यो अभियानमा नागरिक स्तरका वडा समितिहरूदेखि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका बिचमा समन्वय गरेर जाने हो भने मानव बेचबिखन विरुद्धको जालोलाई तोड्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिआइजी) सुदिप गिरीले समाजका अन्य अपराध भन्दा जघन्य अपराधको रूपमा मानव बेचबिखनको विषय रहेको बताए । मानव बेचबिखनमा हिजोको तथ्यांक भन्दा आजको तथ्यांकमा कमी आएको भएपनि यस्ता घटनालाई निमिट्यान्न पार्न नसकिएको बताए ।

आपराधिक मानसिकता भएको समूहहरू संसारभरि नै छरिएर रहेको बताएका डिआइजी गिरीले सबैको साथ र सहयोगले मात्र नियन्त्रण गर्न सकिने उल्लेख गरे । मानव बेचबिखनको अन्तर्राष्ट्रिय जालो तोड्न प्रहरी प्रधान कार्यालयले विशेष ब्युरो नै गठन गरेर अघि बढेको डिआइजी गिरीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीले मानव बेचबिखन गर्ने अपराध रोक्नको लागि सबैको साथ र सहयोग हुनु पर्ने बताए । ‘अहिले बेचबिखनको जालो अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ’, उनले भने, ‘पछिल्लो समयमा प्रविधिले मानव बेचबिखनलाई सजिलो बनाएको छ ।’ मानव बेचबिखन रोक्नका लागि शिक्षा र सचेतनामा ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयको सहयोग र माइती नेपालको आयोजनामा भएको कार्यक्रमको विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगिताबाट विजयी भएका विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा युनिसा गौतम प्रथम, सुभिका निरौला द्वितीय, युनिस नेपाल तृतीय र एन्जेनिता श्रेष्ठ चौथो भएका थिए । उनीहरूलाई सामाजिक विकास मन्त्रालयका सचिव मैनालीले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *