गठबन्धनबारे पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले आगामी निर्वाचनमा अरू पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको भन्दै कुनै विवाद नरहेको बताएका हुन् । पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुने उनको भनाई छ ।
उनले गठबन्धनका बारेमा मतदातालाई भ्रम सिर्जना हुन नदिने जिकिर गरे । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्न सक्ने उनको भनाइ छ । उनले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको र सबैलाई मिलाएर लैजाने बताए ।
उनले आगामी निर्वाचनमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई निर्वाचनको समयमा परिचालन गर्ने जिकिर गरे ।








