धुमधामसँग मनाइयो गौरापर्व

काठमाडौँ । सुदूरपश्चिम लगाएतका स्थानमा धुमधामसँग मनाइने गौरापर्व काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमकाबीच शनिबार गौरापर्व मनाइएको हो ।

धार्मिक एवं सांस्कृतिक महत्वको गौरापर्व काठमाडौंमा पनि धुमधामसँग मनाइने गरेको छ । विभिन्न पेशा, व्यवसाय, अध्ययनका लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमबासीको संख्या बाक्लिदै जाँदा काठमाडौँमा पनि यो पर्व विशेष कार्यक्रमका साथ मनाइने गरेको छ ।

प्रसंसा संरक्षण समूहले आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्र बडु, एमाले नेता भीम रावल लगाएत सहभागी भएर गौरामा देउडा गाँउदै नाचगान गरेका थिए । साथै उनीहरुले नेपालको मौलिक पहिचान र संस्कृतिको जगेर्नामा जोड दिएका थिए ।

गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको किम्वदंती छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ) तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्राएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । गौरा पर्वका दिन देउडा खेल्ने प्रचलन छ । गौरापर्वलाई एकताको पर्वका रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *