घर फर्किएर, ‘बाख्रापालन’

तानसेन । तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किएका उनले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गरेका थिए । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किनुभएका पौडेल अब विदेश नजाने सोचमा छन् ।

‘आफ्नै ठाउँमा केही उद्यम गर्छु भन्ने सोच बनाई बाख्रापालन गर्न थालेको हुँ’, उनले भने , ‘अहिले गाउँघरमै बसेर काम गर्दा सन्तुष्ट छु ।’ तानसेनमा पौडेलजस्ता गाउँका १५ युवा उद्यमी समूहमार्फत बाख्रापालन गर्दै आएका छन् । दश जना त विदेशबाटै फर्केका युवा समूहमा आबद्ध रहेकामा पाँच जना कोरोनापछि मात्र स्वदेश फर्केका हुन् । ‘आफ्नै ठाउँमा फर्केर बाख्रापालन गरी उद्यमशील बन्न पाउँदा हामी सबै उत्साही छौँ’, उनले भने । बाख्रापालनका लागि लुहुङ राम्रो सम्भावना बोकेको क्षेत्र हो तर यहाँ डालेघाँस, भुइँघाँस उत्पादनका लागि आवश्यक बीउ र प्राविधिक ज्ञानको अझै समस्या छ ।

पौडेलले वार्षिक दुई लाखभन्दा बढीको बाख्रा बिक्री गर्दै आउनुभएको छ । कतारमा दैनिक १२ घण्टा काम गर्दा ३० हजार बचाउन मुस्किल परेको बताउनुहुने पौडेलले घरमै बाख्रापालन गरेर घर खर्चसमेत धान्न सहज भएको सुनाए । ‘परिवारसँगै छु, दुःख र बिमार पर्दा साथ दिएको छु, विदेशभन्दा स्वदेश नै प्यारो लागेको छ ।’

तानसेनमा वैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन गर्नेहरू चार सयभन्दा बढी छन् । कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई नगरपालिकाले अनुदान र प्रोत्साहन दिएपछि यहाँ वैदेशिक रोजगारीबाट फर्किएर कृषि गर्नेहरुको सङ्ख्या वढ्दो छ । वडा नं ५, अर्चलेकी ३४ वर्षीया कविता रावल दुबईमा दुई वर्ष काम गरेर घर फर्किएका हो ।

‘दश वर्षदेखि विदेशमा बस्ने श्रीमान्लाई यही बोलाएर कृषि तथा पशुपालन गर्ने सोँच बनेको छ’, उनले भने, ‘दशैँमा आउनुहुन्छ, दुवै मिलेर काम गर्ने योजना बुनेको छु ।’ ‘विदेशमा भन्दा यही सफलता मिलेको रावलले बताए । यहाँ विदेशमा जति मेहेनत गर्नुपर्दैन, आम्दानी पनि राम्रो हुन्छ ।’ कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएपछि स्वदेश फर्किनुभएकी रावल बाख्रा, भैँसी र कुखुरापालनका साथै घाँसखेती गरेर वार्षिक रु दुई लाख आम्दानी गर्छन् ।

यहाँ कृषि गर्नेहरू समूहमा आवद्ध भएका छन्, उनीहरुको समूहमा २२ महिला छन् । समूहका १८ जनाले व्यावसायिक कृषि र पशुपालन गर्दै आएका छन् । जग्गा भाडामा लिएर सामूहिक अदुवा, खुर्सानी र घाँसखेतीसमेत गर्दै आएका छन् । उनीहरुले मासिक बैठक बसेर छलफल गर्नाका साथै व्यावसायिक योजना बनाउने गर्छन् ।

शिक्षा, स्वास्थ्य र पर्यटनको गन्तव्यको परिचय बनाएको पाल्पा जिल्लाको सदरमुकामको रुपमा रहेको उक्त नगरपालिकाले कृषि र पशुपालनको परिचय पनि थप गरेको छ । सङ्घीय संरचनापछि अधिकांश ग्रामीण वडाहरू मिलेर बनेको तानसेनमा, कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई व्यावसायिक काममा सम्लग्न गराएको थियो । यहाँका छ सय युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका छन् । उनीहरुलाई घरमै स्वरोजगार बनाउन नगरपालिकाले युवा कृषि र पशुपालन कार्यक्रम बनाएको थियो, जसअन्र्तगत चार सय युवा जोडिएका छन् । उनीहरुलाई रु १० हजारदेखि ४० हजारसम्म व्यावसायिक अनुदान नगरपालिकाले दिएको छ ।

‘हाम्रो सानो अनुदानमा युवाहरूले ठूलो लगानी गरी व्यवसाय सञ्चालन गरेका छन् ।’ नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भने, ‘तीनवटा बैंकसँग कृषकलाई जोडेका छौँँ, थप रकमका लागि सुलभ कर्जा कार्यक्रम सञ्चालन गरेका छौँ । यहाँ विभिन्न बैंकहरूबाट रु छ करोड वढीको सुलभ कर्जा कार्यक्रम सञ्चालन भएको छ । व्यावसायिक कृषकले २४ किस्तामा ऋण फिर्ता गरिसकेका छन् ।

तानसेन कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामा आवद्ध दुई हजार एक सय ४१ उद्यमीमध्ये चार सय ७२ विदेशबाट फर्केका छन् । उनीहरु दुबई, कतार, मलेसिया र भारतबाट फर्केका युवा हुन् । विदेशबाट फर्केर उद्यमशील बनेका युवा २५ देखि ५० वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *