नाम नराख्दै सकियो प्रदेश सभाको ५ वर्ष, दलहरूले मागे माफी

विराटनगर । प्रदेश १ को नाम नराख्दै प्रदेश सभा अन्त्य भएको छ । विगतको ५ वर्षमा प्रदेश १ सभाले नाम राख्न नसकेरै प्रदेश सभाको अन्त्य भएको हो ।

गएराती १२ बजेदेखि प्रदेश १ सभाको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभा अन्त्य गरिसकेका छन् । प्रदेश सभाको पहिलो ५ वर्षको कार्यकालको अन्त्य हुँदै गर्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले नाम राख्न नसकेकोमा माफी मागेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेशको नामकरण गर्न नसकेकोमा जनतालाई जवाफ दिनु पर्ने बताए । दलहरू आफ्नो अडानबाट टसमस नहुँदा प्रदेशले नाम पाउन नसकेकोमा उनले त्यसको जस अपजस दलहरूले नै लिनु पर्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पहिलो कार्यकाल संरचना निर्माणमा महत्त्वपूर्ण काम भएको बताए । संसद्लाई प्रभावकारी बनाउन केही भूमिका भने नपुगेको उनको भनाई थियो । नामकरणको विषय प्रक्रियामा लानै नसकेकोमा असन्तुष्टि व्यक्त गरेका कोइरालाले प्रदेशको नाम राख्न नसकेकोमा जनता समक्ष हात जोडेर माफी मागेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले नामकरणको विषय जनताको चासो भए पनि गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे । पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गरिएको भन्दै उनले बुझाइमा फरक पर्दा नामको विषय समस्यामा गएको सुनाए । नेकपा एकीकृत समाजवादीकी सांसद सरिता थापाले प्रदेशको नामकरण हुन नसकेको जस अपजस दलहरूले लिनु पर्ने बताइन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले नामकरण नटुङ्गिँदा जनतामा नकारात्मक सन्देश गएको सुनाए । प्रदेश संरचनामा ठूला दलले अधिकार दिन र माग्न नसक्दा जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले पनि कोइराला कै शैलीमा क्षमा मागे ।

राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुःखद रहेको बताउँदै नागरिकको चाहनामाथि दलहरूबाट खेल्ने काम भएको बताइन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलकी नेता विष्णुमाया तुम्बाहाम्फेले पहिचानको मुद्दा पटक पटक उठाउँदै आएकोमा त्यो मुद्दा पुरा हुन नसक्दै सदन अन्त्य हुने अवस्थामा पुगेको बताइन् । ‘मैले पटक पटक पहिचान सहितको प्रदेशको नाम हुनु पर्छ भनेर आवाज उठाउँदै आएँ,’ उनले भनिन्, तर अन्त्यसम्म पनि प्रदेशले नाम पाउन सकेन ।’ उनले प्रदेश अधिकार सम्पन्न हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *