नागरिकता विधेयक राष्ट्रिय सभाबाट आज पुनः पारित गराउने तयारी

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ३ बजे बस्ने गरी बोलाइएको हो ।

प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन( विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः पारित भइसकेको छ ।

अब राष्ट्रिय सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि विधेयक पुनः राष्ट्रपतिकहाँ पठाइनेछ । यसअघि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरिसकेको छ । समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिनासंशोधन बहुमतबाट पारित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *