वर्षाले राष्ट्रिय भलिबलको फाइनल स्थगित, दुई टिमले पुरस्कार बाँडेर लिए

पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । खेल स्थगित भएपछि फाइनलिस्ट दुवै टिमले पुरस्कार बाँडेर लिएका छन् । नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण स्थगित गर्ने निर्णय आयोजकले गरेको हो ।

भदौ १२ देखि १४ सम्म कार्यतालिका रहेकोमा निरन्तर वर्षाले खेलको तालिका पछि सरेको हो । आयोजक नवआदर्श सामुदायिक विकास समाज, जुरी निर्णायक तथा सम्बन्धित टिमका टिम व्यवस्थापक, टिम कोच, क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेको अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिइन् ।

जसअनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कार बापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएको सूचना तथा सञ्चार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एफिएफको टिमले तेस्रो स्थान बापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिम सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *