रकम लेनदेनमा विवादित उपसचिव नेपाल र बीबी एयरवेजका सीईओमाथि अनुसन्धान तीव्र

अख्तियार भन्छ– नतिजा चाँडै आउँछ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ लाख ५० हजार रकम देनदेन प्रकरणमा विवादित बनेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त श्रेष्ठमाथिको अनुसन्धान तीव्र पारेको जनाएको छ । अनुसन्धान तीव्र रुपमा अघि बढेको र छिट्टै नतिजा आउन सक्ने अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

‘अनुसन्धान तीव्र रुपमा अघि बढेको छ,’ उनले भने, ‘भ्रष्टाचारका विषयमा आयोगले हरेक अनुसन्धानलाई सकेसम्म चाँडो टुंगो लगाउने गरेको छ । यो प्रकरणमा पनि चाँडै नतिजा आउन सक्छ । तर, कति समय लाग्छ भनेर भन्न सकिँदैन ।’

यद्यपी, घुस लेनदेनको आरोप लागेका उपसचिव नेपाल र सीईओ श्रेष्ठसँग लिएको बयानबारे प्रवक्ता भण्डारीले केही खुलाउन मानेनन् ।

‘अनुसन्धानकै क्रममा रहेको विषयमा हामीले केही बताउन मिल्दैन,’ उनले भने, ‘अख्तियारभित्रैका जाेसुकैले सूचना चुहाए कारवाही हुनेसमेत व्यवस्था छ ।’ तर, स्रोतबाट बाहिरिएको सूचना र रकम भेटिएको होटलको सीसीटीभी फुटेजले भने उक्त रकम घुसबापत नै लेनदेन भएको बलिया आधारहरु देखाएका छन् ।

रकम लेनदेन भएको भनिएको काठमाडौँकाे होटल अरण्यको सिसिटिभी फुटेजले सीईओ श्रेष्ठ आफ्नै कम्पनीको सेतो गाडीमा चढेर होटल परिसरमा आएको देखिएको छ । श्रेष्ठले हातमा झोला लिएर निस्किएको र उक्त झोला लिएर आएको केही समयपछि नै होटल परिसरबाटै उपसचिव नेपालको गाडीबाट २२ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

अख्तियार टोलीले गत १७ साउनमा उपसचिव नेपालको गाडीबाट फेला पारेको उक्त रकम मध्ये ६ लाख ५० हजार रुपैयाँको स्रोत खुलेको छ । १६ लाख ५० हजार रुपैयाँको भने स्रोत खुलेको छैन । यही रकम घुसबापतकाे हुन सक्ने भन्दै अख्तियारले उपसचिव नेपाललाई पक्राउ गरेर अनुसन्धान सुरू गरेकाे हाे ।

बीबी एयरवेजका सीईओ उक्त रकम उपसचिव नेपाललाई सापटी दिएको बयान  श्रेष्ठले अख्तियारलाई दिएका छन् । तर, त्यो रकम आफ्नो गाडीमा कहाँबाट आयो भन्नेबारे उपसचिव नेपालले आफूलाई कुनै जानकारी नभएको बयान अख्तियारलाई दिएका छन् । यसरी तथ्य बाझिएपछि यो प्रकरण अझ शंकास्पद देखिएको छ । यसैका आधारमा अख्तियारले अनुसन्धात तीव्र पारेको देखिएको छ ।

यसबारे जिज्ञासा राख्न मकालु खबरले सीईओ श्रेष्ठसँग फोनमा कुराकानी गर्न खोजेको थियो । श्रेष्ठले फोन उठाउने, म्यासेज रिप्लाइ गर्ने गरेको भए पनि आफू व्यस्त रहेको बहाना पटक पटक बनाउँदै उक्त रकम देनदेनबारे केही बताएनन् । फोन उठाएपछि पछि कुरा गरौँला भनेर राखेपछि फेरि उनले फोन समेत उठाउन चाहेनन् । श्रेष्ठ तत्कालीन शाही नेपाल वायु सेवा निगम(हालकाे नेपाल वायु सेवा निगम) काे अध्यक्ष समेत रहेका थिए । उनकाे कार्यकाल(२०५७ साल) मा निगमले लाउडा विमान भाडामा लिँदा झण्डै ३९ कराेड रूपैयाँ भ्रष्टाचार गरेकाे भन्दै अख्तियारले सर्वाेच्चमा मुद्दा समेत दायर गरेकाे थियाे । उक्त मुद्दा अझै विचाराधीन नै रहेकाे छ ।

बीबी एयरवेज कम्पनी गैर आवासीय नेपाली संघ(एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टको कम्पनी हो । उक्त रकम बीबी एयरवेजकाे सञ्चालन अनुमति प्राप्त गर्न दिएको घुस रकम हुन सक्ने आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको देखिएको छ । उक्त कम्पनीले सञ्चालन अनुमति लिन नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ ।

भट्टले यो कम्पनी सन् २००८ मा स्थापना गरी सन् २०१२ बाट सञ्चालनमा पनि ल्याएका थिए । तर, सञ्चालनकाे  ३ महिनामै घाटामा गएर कम्पनी बन्द भएको थियो ।

कम्पनीले सरकारलाई बुझाउनु पर्ने पुरानो बक्यौता रकम बुझाएर कम्पनी सञ्चालनको नीतिगत अनुमति गत वर्षकै १९ फागुनमा लिइसकेको छ । हाल कम्पनीले उड्डयन प्राधिकरणसँग विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि अनुमति लिने प्रक्रिया अघि बढाएको छ ।

सहज रुपमा अुनमति प्राप्त होस् भनेर घुस रकम लेनदेन भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *