नवलपुर -१ मा डा शशांक कोइरालाले टिकट पाउने निश्चितप्रायः

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुरको १ मा कांग्रेसबाट पूर्व महामन्त्री डा शशांक कोइरालाले टिकट पाउने निश्चितप्रायः छ । चासोको रूपमा हेरिएको यस क्षेत्रमा कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कोइराला चौथो पटकका लागि पनि टिकट पाउने देखिएको हो ।

पार्टीको १४औँ महाधिवेशनमा डा शेखर कोइराला र शेरबहादुर देउवा सभापति पदको चुनाव लड्दा मौन बसेर देउवालाई सहयोग गरेको आरोप लागका उनलाई टिकट पाउन सहज रहेको स्थानीय नेताहरूको भनाई छ । कोइराला आफैँ हेविवेट नेता हुन् र पछिल्लो समय पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक छन् ।

नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क)बाट चुनाव लडेर मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल यस पटक यसै क्षेत्रबाट सङ्घीय सांसदका लागि इच्छुक देखिए पनि कोइरालाले नै लड्ने बताएपछि उनी पछि हटेको बताइन्छ । कोइराला यस क्षेत्रबाट लड्ने भएपछि मुख्यमन्त्री पोखरेल सङ्घीय समानुपातिकमा बस्ने वा पुनः प्रदेश सभामा लड्ने तयारीमा छन् ।

अर्का दाबेदार भनिएका कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसीले पनि प्रदेश सभातर्फ उम्मेदवारी गर्ने तयारी गरेका छन् । अघिल्लो पटक निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (ख)मा पराजित भएका जिसी यस पटक भने कांग्रेसको बलियो मानिएको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क)मा उम्मेदवारी दिने गरी तयारीमा बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *