तीज : महिलाहरू निराहार व्रत बसी भगवान शिवकाे आराधना गर्दै

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीज । सोमबार दर खाएर बसेका महिलाहरू मंगलबार दिनभर निराहार व्रत बसेर भगवान् महादेवको पूजा आराधना गर्दैछन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रै बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
विवाहित महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै व्रत बस्ने गर्दछन् । तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार दर्शनार्थीहरूको भीड लागेको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको हो ।
पशुपतिनाथको बाहिरी मूल ढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको छ । पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन ।
पर्वका अवसरमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिलाको भीड लागेको छ ।








