पाकिस्तानमा अकल्पनीय बाढी, एकतिहाइ भाग जलमग्न

काठमाडाैँ । पाकिस्तानकी जलवायु मन्त्रीले त्यहाँको एक तिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताएकी छन् ।

विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । ‘यो त एउटा ठूलो सागर बनेको छ । पानी निकालेर फ्याँक्ने कुनै सुख्खा जमिन बाँकी छैन,’ मन्त्री शेरी रहमानले भनिन् । ‘अकल्पनीय सङ्कट आइलागेको छ ।’

ठूलो क्षति
जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको सङ्ख्या १,१३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् । यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ ।

पाकिस्तानको सरकारले जलवायु परिवर्तनलाई यसको दोष दिएको छ । ‘वास्तवमै पाकिस्तानको एकतिहाइ भूभाग अहिले जलमग्न छ । विगतका सबै सीमा तोडिएका छन्,’ रहमानले संस्थालाई भनिन् । ‘हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।’

गत २४ घण्टामा ७५ जनाको मृत्यु
बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको सोमवार अधिकारीहरूले बताएका छन् । उक्त सङ्ख्या बढ्ने ठानिएको छ । विदेशमन्त्री बिलावल भुट्टो जरदारीले मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताए । ‘हामी अझै क्षतिको स्तर जान्ने क्रममा नै छौँ,’ उनले भने ।

करिब तीन करोड ३० लाख पाकिस्तानीहरू उक्त बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन् । यसको अर्थ प्रत्येक सात जनामध्ये एक जना पाकिस्तानी बाढीले प्रभावित छन् । उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन् । सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *