सबैको सहमतिमै नागरिकता विधेयक ल्याइएकाे गृहमन्त्रीकाे दाबी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सबैको सहमतिमा नै नागरिकतासम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन् ।
सोमबार बसेको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ विधेयक पनि सहमतिमा नै ल्याएको दाबी गरेका छन् ।
अहिले पनि लाखौँ नागरिकहरू नागरिकताविहीन भएर बस्नु परेको भन्दै उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको धारणा राखे ।
उनले नयाँ कानुन अनुसार नागरिकता पाउनेहरू मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे । गृहमन्त्री खाँणले विधेयकका विषयमा राष्ट्रपतिले उठाएका सवाल महत्त्वपूर्ण रहेकाले कतिपय विषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राखे ।
बैठकमा केही सांसदहरूले केही सांसदहरूले संशोधनको विषयमा पनि छलफल हुनुपर्ने धारणा राखेका थिए भने केही सांसदहरूले संसद्बाट नै अस्वीकृत भएका संशोधनका विषयमा छलफल गर्न उपयुक्त नहुने धारणा राखेका थिए । समितिको अर्को बैठक बुधवार बोलाइएको छ ।








