संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित नगराैँ : एमाले

काठमाडौँ । नेकपा एमालेका सांसदहरूले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट नभई नियमित प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफलका क्रममा उनीहरूले हतारमा संक्रमणकालीन न्यायको विषय टुंगाउन खोज्नु उचित नहुने धारणा राखेका हुन् ।
बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य हुनुपर्ने धारणा राखे । उक्त विधेयक पारित गर्दा प्रक्रिया उल्लंघन गरेमा थप गिजोलिने उनको भनाई छ ।
त्यस्तै एमालेका अर्का सांसद भीम रावलले नेपालमा पुनः द्वन्द्व चाहने खेलप्रति सरकार र राजनीतिक दलहरू सजक हुनुपर्ने बताए । द्वन्द्वकालमा भएका जघन अपराधका विषयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उनले नेपालीहरूले अन्तर्राष्ट्रिय समुदायलाई पनि ध्यान दिँदै उचित तवरले यस विषयलाई टुङ्गाउनुपर्ने धारणा राखे ।
त्यस्तै, एमालेका अर्का सांसद खगराज अधिकारीले निर्वाचनको मिति तोकिसकेपछि विधेयक ल्याएर सरकारले झारो टार्ने काम गर्न खोजेको तर्क गरे । संक्रमणकालीन न्याय सम्बन्धी व्यवस्थालाई निष्कर्षमा पुराउन वर्तमान गठबन्धन सरकारले नै ढिलाइ गरेको उनले बताए । अधिकारीले हतारमा विधेयकलाई अघि बढाउन नहुने जिकिर गरे ।
उक्त विधेयकमाथिको छलफलका क्रममा सत्तापक्षका सांसदहरूले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन ढिला गर्न नहुने धारणा राखेका थिए ।








