नागरिकता विधेयक समितिबाट बहुमतले पारित गर्ने रणनीतिमा सत्ता गठबन्धन

काठमाडाैँ । राष्ट्रिय सभामा पुगेकाे नागरिकता विधेयक विधान विशेष समितिमा छलफलका क्रममा छ ।
समितिमा सत्ता गठबन्धनका सांसद्हरू विधेयक जसरी पनि पारित गर्नेमा देखिएका छन् । यसका लागि उनीहरू वैवाहिक अंगीकृतमा नबाेल्ने, बहस नगर्ने तथा एमालेलाई धारणा राख्न दिएर बहुमतले पास गर्ने रणनीति अख्तियार गरेका छन् ।
सिंहदरबारमा साेमवार बसेकाे कांग्रेस संसदीय दलकाे कार्यक्रममा नागरिकता विधेयकबारे भएकाे छलफलमा यस्ताे रणनीति अपनाइने सहमति भएकाे हाे । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गाेविन्द बन्दी तथा सांसदहरू गोपी अछामी, गंगा बेलबासे, राधेश्याम पासवान, अनिता देवकोटा, जितेन्द्र नरायण देव, नारायण दत्त मिश्र, प्रकाश पन्थ, बेदुराम भुसाल, शेखर सिन्हा लगायत उपस्थित रहेका थिए ।
कार्यक्रममा गृहमन्त्री खाणले प्रतिनिधि सभाको चुनावलाई ख्याल राख्नुपर्ने बताउँदै नागरिकता विधेयक राष्ट्रियसभाबाट जतिसक्दो छिटो पारित गरिदिन आग्रह गरे ।
बैठकले आज र भोलिमा विधेयकमाथि छलफल सक्ने तथा मूल विषयका माैन रहने निर्णय गरेकाे छ ।








