विधायन समितिको बैठक साेमबार, सदस्यहरू भन्छन्- ‘छलफलपछि पारित गर्छाैँ’

काठमाडाैँ । नागरिकता विधेयकबारे छलफल गर्नका लागि विधायन व्यवस्थापन बैठक बाेलाइएकाे छ । समितिका सदस्य नारायणदत्त मिश्रकाअनुसार साेमबार दिउँसाे १२ बजे बस्नेगरी बैठक बाेलाइएकाे हाे । ‘बैठक साेमबार दिउँसाे बस्दैछ,’ सदस्य मिश्रले मकालुखबरसँग भने, ‘व्यापक छलफल गर्नेछाैँ ।’

आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुन:विचारका लागि समितिमा पठाएको हो । भदौ २ गते प्रतिनिधि सभाले राष्ट्रपतिले पुन:विचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा आएको १० दिनपछि यो विधेयक अगाडि बढेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाकाे अर्काे बैठक आउँदाे भदाै १६ गते बाेलाएका छन् ।उक्त बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र पारित गर्नेगरी काम समितिले जनाएकाे छ । सदस्य मिश्रले थपे, ‘व्यापकरूपमा छलफल गर्ने र पारित गर्ने साेचेका छाैँ ।’

अर्का समिति सदस्यले पनि विधेयक जसरी भएपनि पारित गर्नैपर्ने बताएका छन् । मकालुखबरसँग उनले भने, ‘त्यसलाई त पारित गर्नु परिहाल्याे । त्यसलाई राखेर के गर्नू ? हामी एकदिन नभए दुईदिन छलफल गर्छाैँ र पारित गर्छाैँ ।’

समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ । १५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ३ जना सदस्य (मिश्रसहित जितेन्द्र नारायण देव र प्रकाश पन्थ) छन् भने नेकपा (माओवादी केन्द्र) बाट ४ जना सदस्य (गंगा कुमारी वेल्वासे, तारामान स्वार, सुरेश कुमार आलेमगर र राधेश्याम पासवान) छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट २ जना सदस्य (डा. बेदुराम भुसाल र उदय बहादुर बोहरा) छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि सदस्य छन्, उनी एकीकृत समाजवादीनिकट हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी सदस्य छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट ३ जना सदस्य (देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ) छन् भने राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौड्याल एमालेनिकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =