बहसमा बालेन शैली : पक्ष/विपक्ष विभाजित नेताहरू

काठमाडौँ । शुक्रबार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौँका मेयर बालेन्द्र शाहको प्रशंसा गरे । महानगरभित्र अनाधिकृत रूपमा बनाइएका संरचना, अनाधिकृत रूपमा फुटपाथका राखिएका पसल हटाउने कार्य सुरु गरेको’ भन्दै उनले प्रशंसा गरेका हुन् ।

उनले भनेका थिए, ‘सालिक बनाउने काठमाडौँका मेयरको निर्णय सुन्दा मलाई लागेको थियो जुन जोगी आए पनि कानै चिरेको तर अनधिकृत रूपमा बनाइएका घर-टहराहरू भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु । यस कार्यको खुलेर प्रशंसा गर्छु ।’

राजनीतिक उचाइका दृष्टिले उच्च तहबाट खुल्लमखुल्ला रूपमा बालेनको पछिल्लो कार्यको प्रशंसा भएको सायद यो पहिलो थियो । तर, उनै सभापति रहेको कांग्रेसका सचेतक मीन विश्वकर्माले शनिवार बालेन शैलीको विरोध गरे । विश्वकर्माले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर बालेनले भौतिक संरचनाहरू हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति जनाए । ‘हामी आज बजारमा के-के देख्दै छौ त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साव ! हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ?’ उनले भने ।

उनी थप्छन्, ‘गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ?’

अनधिकृत संरचना भत्काउने काठमाडौँका मेयर बालेनको कदमबारे समाजमा बहस जारी छ । जसमा विभिन्न राजनीतिक दलका नेताहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । उस्तै गरी समाज पनि ।

बिहीबार बानेश्वरको ‘अल्फाबिटा’ को पार्किङ हुनुपर्ने भुईँतल्लामा मेडिकल सञ्चालनमा ल्याइएको भन्दै अवैध संरचना डोजर जोतिएपछि एमाले नेता महेश बस्नेतले विरोध मात्रै गरेनन् बालेन विरुद्ध आक्रोश पनि व्यक्त गरे । जसमा उनले अल्फाबिटामा डोजर चल्नुमा आफूसँग नजिक भएको वा फोटो लिएको विषयलाई जोडेका छन् । त्यस्तो भए आफूहरू समेत मिलेर सन्की र लहडी आतङ्क नियन्त्रण गर्न बाध्य हुने उनको चेतावनी छ ।

बस्नेतले लेखेका छन्, ‘अल्फा बिटा कम्प्लेक्समाथि किन डोजर चलाएको ?
१. नक्सा पासअनुसार घर निर्माण नगरेको भएर ?
२- हामीसँग नजिक भएर या हामीसँग फोटो लिएको कारण ?

पहिलो कारण हो भने जायज होला,नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान् नै । दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतङ्क नियन्त्रण गर्न बाध्य हुने छौँ ।’

उस्तै आक्रोशका साथ बालेनको पक्षमा उत्रिने हेबिवेट नेताहरू पनि छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्रले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन जनाएका छन् । डा. भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘वेल डन बालेन शाह, किप इट अप ।’ त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौँका सडक चौडा पार्ने अभियान सञ्चालन गरेका थिए ।

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि अवैध संरचना हटाउने मेयर बालेनको कदममा समर्थन जनाएकी छन् । सामाजिक सञ्जालमा ९ बुँदे सन्देश लेख्दै झाँक्रीले बालेनलाई राजनीतिक दबाब झेल्नुपर्ने अवस्था नरहेको बताएकी छन् ।‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने । मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । निर्वाचन आएको छ नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरु भएको थियो । मेरो कार्यकाल लामो रहेन’ उनले लेखेकी छन्, ‘मेयर बालेनजी र मैले केही योजना बनाएका थियौँ । सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ । मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *