देशले नयाँ अनुहार खाेजेकाे भन्दै वाग्मतीका पूर्वमुख्यमन्त्री गरे चुनाव नलड्ने घाेषणा

काठमाडाैँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् ।

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताउँदै उनले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् ।

अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने बताउँदै पौडेलले लेखेका छन्, ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले आफू उम्मेदवार नरहेकाे बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =