मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर

काठमाडौँ । सौन्दर्य प्रतियोगिताका आयोजक मनोज कुमार पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको छ ।
बिहीबार उच्च अदालत ललितपुरले न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले जिल्लाकै आदेश सदर गरेको हाे ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसुर र बाल यौन दुर्व्यवहारको कसुर छ ।
गत जेठको पहिलो साता सुन्दरी प्रतियोगिताको आडमा सात वर्षअघि पाण्डेले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशाेरीले भिडिओ सार्वजनिक गरेकी थिइन् । उक्त उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा अभियोगमा मुद्दा दर्ता छ ।
सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनलाई मानव बेचबिखन मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएको छ भने यौन दुर्व्यवहारको मुद्दामा ३ वर्ष कैद सजायको माग गरिएको छ ।
दुवै मुद्दामा दोषी प्रमाणित भएको खण्डमा उनी १८ वर्ष कैद हुनसक्ने जनाइएको छ ।








