एकीकृत समाजवादी गठनको एक वर्ष, उपमहासचिव खतिवडा भन्छन्- ‘ठूलै उपलब्धि हासिल गर्‍याैँ’

एमालेबाट बाहिरिनु पर्दा पिर मान्दैनन् नेताहरू

काठमाडाैँ । प्रधानमन्त्रीकाे हैसियतमा केपी शर्मा ओलीले बहुमतसहितको प्रतिनिधि सभा विघटन गरे २०७७ पुस ५ गते । उनको सो कदमविरुद्ध तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले विद्राेह गर्‍याे । यसपछि फागुन २८ गते प्रतिनिधि सभा पुन:स्थापना भयाे । पुन:स्थापित प्रतिनिधि सभा ओलीले पुन: जेठ ८ गते राति सनककाे भरमा पुन:विघटन गरिदिए । यसपछि सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना मात्रै गरेन, नेकपा पनि फुटाइदियाे । यसपछि प्रचण्डले पुन: आफ्नै पुरानाे पार्टी नेकपा (माओवादी केन्द्र) सिङ्गारे भने माधवकुमार नेपाल-झलनाथ खनालहरू आफ्नाे पुरानाे पार्टी एमालेमा रहन सकेनन् र उनीहरू नयाँ पार्टी गठनमा जुटे । यसपछि प्रकारान्तरले बन्याे— नेकपा (एकीकृत समाजवादी) ।

एकीकृत समाजवादी गठन भएको पनि एक वर्ष पूरा भएको छ । उसलाई निर्वाचन आयाेगले आजकै दिन अर्थात् २०७८ भदाै ९ गते छुट्टै दलका रूपमा मान्यता दिएकाे थियाे । अहिले एकीकृत समाजवादीसँग ४ वटा केन्द्रीय मन्त्रालय छ भने २ वटा प्रदेश सरकार छ । उसँग प्रतिनिधि सभामा २३ सिट र राष्ट्रिय सभामा ५ सिट छ । यसरी हेर्दाखेरि ऊ ‘मेनस्ट्रिम’ पार्टी हाे ।

उसाे त नेताहरू के ठान्छन् ? याे एक वर्षभित्र पार्टीले कति राजनीतिक एवम् राष्ट्रिय प्रगति गर्‍याे ? त्यहाँ पार्टी कहाँनेर चुक्याे वा केचाहिँ राम्राेसँग निभायाे ? के एकीकृत समाजावदीले सत्ताराेहणलाई मात्रै पार्टीगत प्रगति मानेकाे त छैन ? यी यावत् सन्दर्भहरू; खासगरी पार्टी निर्माणकाे याे एक वर्षलाई स्वयम् एकीकृत समाजवादीकै नेताहरू कसरी लिन्छन् ? मकालुखबरकले  एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग कुराकानी गरेकाे  छ ।

पार्टी निर्माणको सम्झना र यात्रा

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडा आफ्नाे पार्टीले एक वर्षको अवधिमा ठूलाे सफलता हासिल गरेको बताउँछन् । उनी पार्टी स्थापना गर्नु आफैँमा चुनौती र अप्ठ्यारो काम रहेकाे भन्दै विगत सम्झन्छन्, ‘सजिलाे थिएन । हामीले अप्ठ्याेबिच पनि विद्राेह गर्‍याैँ र पार्टी बनायाैँ । अहिले ठिकै छ ।’

एकीकृत समाजवादी निर्माणले वामपन्थमा एकखाले हलचल नै ल्याएकाे दाबी उनकाे छ । ‘चुनौतीको सामना गरेर पार्टी स्थापना गरेर यतिका काम गर्दा गौरव महसुस भएकाे छ,’ खतिवडा भन्छन्, ‘हाम्राे पार्टीलाई असफल भएकाे भन्नुहुँदैन । एक वर्षकै अवधिमा हामीले स्थानीय तह सदस्य निर्वाचनमा सहभागिता जनायाैँ । राष्ट्रिय सभा निर्वाचनमा पनि हाम्रो सम्मानजनक उपस्थिति छ । यसका साथै हाम्राे पार्टीमा ५ लाखको हाराहारीमा क्रियाशील सदस्यहरू हुनुहुन्छ । यो हाम्राे लागि ठूलाे उपलब्धि हो ।’

उनी एकीकृत समाजवादी निर्माणले केपी शर्मा ओलीकाे अहङ्कारलाई ठेगान लगाएकाे बताउँछन् । ‘मुख्यतया हामीले ओलीको अहङ्कारी तथा तानासाही नेतृत्वलाई सडकमा ल्याएर जनभावनाअनुसारको गठबन्धन सरकार स्थापना गर्ने सफल भएका छाैँ । यो हाम्रो मात्र होइन, हाम्रो पार्टीको नै महत्त्वपूर्ण उपलब्धि हो । हाम्रो पार्टीले जिल्ला-जिल्लामा संगठन विस्तारको कामलाई तीव्रता दिएको छ । केन्द्रीय प्रशिक्षण तथा जनसंगठनका बैठकहरू पनि आयाेजना गरिसकेका छाैँ । अनि सबैभन्दा ठूलाे कुराचाहिँ हामीले अहङ्कारीहरूलाई ठेगान लगाएका छाैँ । हाम्राे पार्टीलाई जनताले आशीर्वाद दिनुभएकाे छ । एमाले छाडेर कुनैखाले पश्चाताप छैन,’ उनले भनेका छन् ।

‘गठबन्धनमा निर्भर हुँदा स्थानीय निर्वाचनमा सन्तोषजनक भएन’

खतिवडा आफ्नो पार्टीको प्रशस्त आधार र सम्भावना हुँदाहुँदै पनि स्थानीय तह निर्वाचनमा कमजोर सावित भएकाे असन्तुष्टि जाहेर गर्छन् । आफ्नाे पार्टीकाे निष्कर्ष पनि यही भएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो उपलब्धि पाउन सकेन । यसलाई हामीले स्वीकारेका छाैँ । चुनावमा हामी गठबन्धनमा धेरै निर्भर हुँदा उपस्थिति सन्तोषजनक हुन सकेन । गठबन्धन गर्दा पनि आर्जन भएको परिणामका कारण पार्टीपङ्क्तिलाई घाटा भएको छ । तर आसन्न निर्वाचनमा पार्टीले राम्रो पोजिसन ल्याउने कुरामा दुईमत छैन ।’

आसन्न निर्वाचनमा भने आफूहरूकाे पार्टी ठूलाे बन्ने अपेक्षा खतिवडाकाे छ, भन्छन्— ‘अबको निर्वाचनमा राष्ट्रिय पार्टीको हैसियत हामीले प्राप्त गर्नेछाैँ । गत निर्वाचनमा भनेजति तयारी पुगेन, कार्यकर्ताको मन बिरक्तिएको थियो । त्यो कारण परिणाम राम्रो आएन । हामी २०७४ लाई आधार मानेर जाने हो । अब आउँदाे निर्वाचनमा भने हाम्राे पार्टी ठूलाे पार्टी बन्छ ।’

‘हाम्राे पार्टी गठबन्धनमा टाँसिएकाे छैन’

खतिवडा गठबन्धन देश र जनताको आवश्यकताकाे रूपमा ‌औँल्याउँछन् । ‘केही फोहोरी राजनीति गर्ने मानिसहरूले समाजवादी पार्टी सरकारमा सामेल हुन गठबन्धनमा टाँसियो भनेका रहेछन् । तर, हिजो हामीले विद्रोह गरेर गठबन्धन बनाएको हो । यसमा जनताको साथ र समर्थन छ । ५ वर्षका लागि दिएको जनताको मतको सम्मान गर्ने नसक्नेले हाम्रो पार्टीको यो उपलब्धिलाई होच्याएको राम्रो सुनिएन,’ उनले भनेका छन्, ‘हाम्राे पार्टी अहिले पनि सरकारमा छ, गठबन्धनमा छ । याे आजकाे राष्ट्रिय आवश्यकता हाे र याे देश र जनाका लागि हाे ।’

उनले राष्ट्रिय आवश्यकताले गठबन्धन बनेकाले त्यसलाई निरन्तरता दिनु आफूहरूकाे पनि जिम्मेवारी भएकाे बताए । गठबन्धन जनताको माग र राष्ट्रियताको रक्षा रहेको जिकिर गर्दै उनी थप्छन्, ‘एकीकृत समाजवादीलाई मात्रै बलियो बनाउन गठबन्धन बनेको होइन, गठबन्धनको वकालत गर्दै हामीसँग एक्लै लड्न सक्ने क्षमता नभएको पनि होइन । तर, संविधानले सुनिश्चित गरेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत सुनिश्चित हुने अवस्था नभएका कारण पनि संयुक्त सरकार बन्ने परिस्थिति छ र यो राम्रो पनि हो । यहिलेको हाम्रो सत्ता गठबन्धन थिएन भने मुलुकमा राजनीतिमा रिक्तताको स्थिति आउने थियो । यो सबैले बुझभएको छ ।’

‘यथास्थितिमा एमालेसँग मिल्न सकिँदैन’

खतिवडा यथास्थितिमा एमालेसँग आफ्नाे पार्टी नमिल्ने बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै सैद्धान्तिकरूपमा असहमति भएको कुरा सुनाउँदै उनले आफ्नो पार्टी प्रतिगमनविरुद्र जन्मिएकाे दाबी सुनाए । ‘हामी प्रतिगमनविरुद्ध विद्राेह गर्छाैँ,’ उनले भनेका छन्, ‘एमाले त्यसभन्दा पनि फरक पार्टी हाेइन । तर एमालेसँग अहिल्यै मिल्न सकिँदैन ।’

त्यसअघि उनले भनेका छन्, ‘एमालेसँग मिल्न लाग्यो भन्ने कुराहरू आएकाे छन्, यो सत्य होइन । अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति तथा अहङ्कार हुँदाहुँदै अहिले मिल्ने कुरा भ्रम हुन् । कतिपयको चाहना मिलोस् भन्ने होला । तर, अहिले सम्भव छैन । हामी एकीकृत समाजवादीलाई नै मूल शक्ति बनाउने योजनामा छाैँ । भविष्यमा उहाँहरूले आफ्नो व्यवहार सुधार्नुभयो भने त्यो बेला सोच्ने कुरा छँदैछ । स्वार्थको झण्डा बोकेको पार्टी एमाले भएकाले यसको पालो तल झर्ने र हाम्राे पार्टीमाथि जाने बेला हाे याे ।’

‘प्रतिनिधि सभा कम्तिमा २४ सिट ग्यारेन्टी हुनुपर्छ’

खतिवडा प्रतिनिधि सभामा कम्तीमा आफूहरूकाे पार्टीबाट २४ सिट ग्यारेन्टी हुनुपर्ने बताउँछन् । प्रतिनिधि सभा विघटन भएकाे बेला एमालेबाट २४ सांसदले विद्रोह गरेकाे भन्दै उनले भनेका छन्, ‘कम्तीमा त्यत्ति सिट ग्यारेन्टी हुनुपर्छ ।’

खतिवडाले भनेका छन्, ‘राजनीतिक र सैद्धान्तिक लाइनमा खरो बहस नहुँदा हामीमाथि अझ धेरै हुनुपर्ने छ । यो साँचो हो । यो सहमतिअनुसार २४ स्थानमा हाम्रो दाबी रहन्छ । ती २४ मध्ये १२ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत् आउनुभएको थियो । तर ती सबै साथीहरू प्रत्यक्षरूपमा लड्ने इच्छा जायर गर्नुभएको छ । सोकारण गठबन्धनमा विवेकपूर्ण निर्णय हुनेछ । हामीले लगभग ३० सिट पाउने सम्भावना छ ।’

समानुपातिकतर्फको कुरा परिणामपछि आउने उनकाे भनाइ छ । उनले अबको प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनकाे ५ वर्षे स्थिर सरकार गठन हुनेसमेत जिकिर गरे ।

‘आफ्नै क्षेत्रबाट उठ्छु’

खतिवडाले आफू आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने बताए । उनले उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट आफू उठ्ने बताए । उनले भने, ‘मलाई सोही क्षेत्रका जनताले उठ्नु भन्नुभएको छ र गठबन्धनले पनि मलाई त्यहीँबाट टिकट दिन्छ । म अत्याधिक मतका साथ विजयी पनि हुनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *