‘चुनावको मुखमा राष्ट्रपतिले ‘राष्ट्रवादी’ उत्तेजना फैलाउन खोजे’

काठमाडौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्व सैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् ।

बिहीबार ट्विट गर्दै डा। भट्टराईले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन ।’

नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमुक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’ अर्थात्, नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले ‘राष्ट्रवादी’ उत्तेजना फैलाउन खोजेको हो कि भन्ने डा. भट्टराईको आशंका छ ।

संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि आफकहाँ आएको नागरिकता विधेयक १५ बुँदे संदेशसहित राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभाले पुनर्विचारका लागि राष्ट्रपतिले पठाएको १५ बुँदे सन्देशउपर विस्तृत छलफल नगरी नागरिकता विधेयक पारित गरिसकेको छ ।

प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा गएको छ । राष्ट्रिय सभाको बैठक यही भदौ १२ गतेका लागि बोलाइएको छ । भदौ १२ गते राष्ट्रिय सभामा नागरिकता विधेयक अगाडि बढाउने सरकार र सत्तारुढ गठबन्धनको तयारी रहेका बेला राष्ट्रपतिले विभिन्न पक्षसँग भेटघाट बढाएकी छन् । यही बेला डा. भट्टराईले ट्विट गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =