व्यक्तिगत दस्तावेज

घनश्याम भुसालकाे चिन्ता- ‘कांग्रेसले कम्युनिष्टविरुद्ध कम्युनिष्ट नै प्रयाेग गर्ने अवस्था बन्दैछ’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टीकाे स्थायी समिति बैठकमा व्यक्तिगत दस्तावेज पेश गरेका छन् । भुसालले दस्तावेजमार्फत् पार्टीले व्यक्तिलाई नभइ सङ्गठनलाई केन्द्रमा राखेर अभियान चलाउनुपर्ने बताएका छन् । व्यक्तिलाई केन्द्रमा राखेर गतिविधि वा अभियान चलाइँदा  त्यसले प्रकारान्तरले पार्टीलाई नै घाटा पुग्ने उनले उल्लेख गरेका छन् । ‘जतिसुकै जिम्मेवार भएपनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने अभियान दीगाे र फलदायी हुँदैनन्,’ उनले दस्तावेजमार्फत् भनेका छन् ।

एमालेभित्र सङ्गठनलाई भन्दा पनि व्यक्तिलाई केन्द्रमा राखेर बढी बहसहरू भएकाे पटक-पटक आवाजहरू उठेका छन् । जुन, अहिले पनि उठिनै रहेकाे छ । यसैबेला भुसालले पनि यसैलाई जाेड दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बाेधन गरेर लेखिएकाे दस्तावेजमा उनले वाम एकतामा नै जाेड दिएका छन् । उनले वाममाेर्चाकाे नेतृत्व एमालेले नै गर्नुपर्ने निष्कर्ष निकालेका छन् । ४ पृष्ठकाे उनकाे दस्तावेजमा उनले वामहरू एकठाउँमा उभिएकाे खण्डमा आसन्न निर्वाचनमा १५० सिट प्रत्यक्षमै जित्ने प्रक्षेपण गरेका छन् । उनले भनेका छन्, ‘स्थानीय तहकाे परिणामकाे आधारमा हेर्दा वाममाेर्चा बनेकाे अवस्थामा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फकाे १६५ सिटमा करिब १५० जित्नसक्ने देखिन्छ ।’

उनले अहिलेकाे अवस्था नेपाली कांग्रेसले कम्युनिष्टलाई कम्युनिष्टविरुद्ध नै प्रयाेग गर्नसक्ने रहेकाे उल्लेख गरेका छन् । ‘कम्युनिष्टहरू नमिल्दा कम्युनिष्टले नै गुमाउने  छर्लङ्गै छ । कम्युनिष्ट पार्टी विभाजन हुने र नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीविरुद्ध नै प्रयाेग गर्ने अवस्था देखिएकाे छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *