तनहुँ जलविद्युत र रघुगंगा जलविद्युतमा देखिएका समस्या समाधान गर्न संसदीय समितिकाे निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँको तनहुँ जलविद्युत आयोजना र म्याग्दीको रघुगंगा जलविद्युत आयोजना निर्माणमा लागि देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा बुधवार बसेको समिति बैठकले दुई जलविद्युत आयोजना निर्माणका क्रममा विविध जटिलता देखिएको भन्दै आन्तरिक समन्वयमार्फत सबै समस्यालाई समाधान गर्दै निर्माणमा देखिएको समस्या हटाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा उक्त आयोजनाहरूको निर्माण अवस्थाका बारेमा अध्ययन गर्न गठित अनुगमन समितिले प्रतिवेदन बुझाएको थियो । आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरूमा समावेश विषयहरूलाई यथाशीघ्र कार्यान्वयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरूलाई निर्देशन दिइएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिए ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले उक्त आयोजनाहरू समयमा नै सुरु हुन नसक्दा लागत नै महँगो पर्ने देखिएको बताए । विभिन्न समस्या समाधानका प्रयास हुँदा पनि उक्त आयोजनाहरू निर्माण गर्न निकै कठिन भएको उनको भनाई छ ।
त्यस्तै सांसदहरूले आयोजनाहरू निर्माणमा ढिलाइ भएका कारणहरूलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताए ।








