दलभित्र उम्मेदवारीका लागि जिकिर गर्ने बढ्दो

चितवन । संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरूमा उम्मेदवारीका लागि जिकिर गर्नेहरू बढ्दै गएका छन् ।

पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य गर्न थालेका छन् । मुख्य रूपमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा हुने भएको छ । यसअघि सङ्घमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए ।

तीन क्षेत्र र छ प्रदेशमा ती नै दुई दलका उम्मेदवार विजयी भएका थिए । एमालेको फुटसँगै बनेको समाजवादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै एमाले र माओवादी केन्द्रका छन् । नेपाली कांग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरूबिचमा गठबन्धन हुने जनाइएको छ । यस्तो अवस्थामा नतिजा फरक हुने अनुमान दलहरूले गरेका छन् ।

निर्वाचनमा सङ्घ र प्रदेश तहमा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि जिकिर गर्नेको सङ्ख्या धेरै छ । एमालेका जिल्ला अध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको जिकिर रहेको छ । सोही क्षेत्रको प्रदेश ‘क’ मा प्रभा बराल, इमानसिंह लामा, सिंहबहादुर गोले र घनश्याम कँडेलको जिकिर रहेको छ । ‘ख’ मा नारायण वन, जगन्नाथ आचार्य, महादेवी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिलेसम्म जिकिर हुँदै आएको उनी बताउँछन् ।

क्षेत्र नं २ बाट रामबहादुर थापा, देवी ज्ञवाली, कृष्णभक्त पोख्रेल र शारदा कुमालमध्ये एक जना उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ । क्षेत्र नं २ ‘क’ मा खुमनारायण श्रेष्ठ, कृष्ण सिलवाल, केशव लामा र टीका रिजालको जिकिर रहेको छ । जिल्ला अध्यक्ष न्यौपाने २ ‘ख’ मा विजय सुवेदी, तेजेन्द्र खड्का र सङ्घमा उम्मेदवारी नपाएकामध्ये पनि पर्न सक्ने अनुमान गरिएको छ । यस्तै क्षेत्र नं ३ मा आफ्नै जिकिर रहेको उनी बताउँछन् । यससँगै कृष्ण भुर्तेलको पनि क्षेत्र नं ३ मा उम्मेदवारीका लागि जिकिर रहेको छ ।

यहाँ भुर्तेल ३ ‘क’ मा उम्मेदवार बन्न सक्ने जिल्ला अध्यक्ष न्यौपानेको आकलन छ । उनलाई पार्टीले क्षेत्र नं ३ मा उम्मेदवार बनाउन नसकेमा न्यौपानेको जिकिर २ को ‘ख’ मा पनि रहेको छ । क्षेत्र नं ३ को ‘ख’ मा सरस्वती विष्ट, शङ्कर थपलिया र प्रकाश ढुङ्गानाको जिकिर रहेको छ । हालसम्म देखिएका अनुहारभन्दा थप जिकिर आउन सक्ने जानकारी दिँदै जिल्ला अध्यक्ष न्यौपाने भन्छन्, “अहिले देखिएका र जिकिर गर्नेभन्दा अरू थप पनि हुनसक्छ ।”नेपाली कांग्रेसको क्षेत्र नं १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले जिकिर गरेको जिल्ला सभापति राजेश्वर खनाल बताउँछन् ।

क्षेत्र नं १ को ‘क’ मा धनबहादुर गुरुङको जिकिर रहेको र सोही प्रदेशमा आफ्नो पनि जिकिर रहेको क्षेत्रीय सभापति किरण भूषण ओलीले बताउँदै आएका छन् ।

क्षेत्र नं १ को ‘ख’ मा गीता देवकोटा, वासु ढुङ्गाना, उत्तम आचार्य, राजु सिलवाल र कुमार कार्कीले इच्छा गरेका छन् । क्षेत्र नं २ मा सभापति खनाल नै र पूर्व सभापति जीतनारायण श्रेष्ठको जिकिर रहेको उनी जानकारी दिन्छन् । जिल्ला सभापति खनालले आफूलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी हुने जिकिर गरेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रदेश २ ‘क’ मा दीपक आचार्य, टङ्कनाथ पौडेल, कमल आचार्य र रामबहादुर लामाको जिकिर रहेको छ । क्षेत्र नं २ ‘ख’ मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुव पोख्रेलले उम्मेदवारी दिने जिकिर गर्नुभएको सभापति खनालको भनाइ छ ।

क्षेत्र नम्बर ३ बाट टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको जिकिर रहेको छ । केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने जिकिर गर्दै आउनुभएको छ । प्रदेश नं ३ (क) मा प्रा डा सूर्यकान्त घिमिरे, विजय भुसाल र राजीव न्यौपानेको जिकिर रहेको छ भने ३ (ख) मा कैलाश कोइराला, साज महतो र लालबहादुर दवाडीको जिकिर रहेको सभापति खनाल जानकारी दिन्छन् ।

यस्तै नेकपा माओवादी केन्द्र चितवन शाखाले क्षेत्र नं ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठबन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ । पार्टीले चुनावी अभियान अघि बढाएको उनी बताउँछन् ।

आन्तरिक सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको जिल्ला अध्यक्ष अधिकारीको भनाइ छ । नेकपा समाजवादीका नेता कृष्ण खनाल गठबन्धनको निर्णयअनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउँछन् । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताएका छन् । जिल्ला अध्यक्ष रुद्र ढकाल क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवारले उम्मेदवारी दिने बताउँछन् ।

गठबन्धन भएमा सोहीअनुसार मिलाइने उनको भनाइ छ । जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठबन्धन गरेका थिए । सत्ता र विपक्षीको दुई गठबन्धन बनेमा आफूले जिकिर गरेको क्षेत्रबाट भन्दा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने बाध्यता जिल्ला नेताहरूमा छ ।

क्षेत्र नं २ बाट खाना र खेतीपातीका अभियन्ता डा कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलन गरी घोषणा गरेका छन् । यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नं ३ बाट हुने जनाउँदै आएका छन् । दलहरूमा उम्मेदवारीका लागि जिकिर गर्नेहरू धेरै छन् ।

जिल्ला नेतृत्वसँग उम्मेदवारीका लागि जिकिर गर्नेको नाम बाहिर आए पनि प्रदेश र केन्द्रका लागि भने सोझै उम्मेदवारका लागि जिकिर गरिरहेका कतिपय नेता सार्वजनिक भइसकेका छैनन् । साना र नयाँ दलका उम्मेदवारका नाम पनि सार्वजनिक भइसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =