भौतिक पूर्वाधारमन्त्री पाँचथरकै हुँदा विकासले गति लिएन, अब मेरो पालो : सहमहामन्त्री आङ्देम्बे (अन्तर्वार्ता)

काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बे संविधान सभा सदस्य पनि हुन् । उनी साेही संविधानअनुरूप निर्मित वर्तमान संरचना र मुलुककाे समसामयिक राष्ट्रिय राजनीतिबारे त जानकार हुने नै भए, सँगै उनी पार्टीकाे सहमहामन्त्री हुनुकाे नाताले पार्टीकाे आन्तरिक काम/कारबाही तथा कदममाथि पनि खबरदारी गर्दै आइरहेका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वसन्तकुमार नेम्वाङसँग १० हजार मतले पछि परेका आङ्देम्बेलाई नै यसपटक गठबन्धनले टिकट दिने पक्काजस्तै छ । गठबन्धनसम्बद्ध सबै दलहरूकाे साथ पाए भने उनी विजयी बनिहाल्छन् । उसाे त उनलाई त्यहाँ कति सहज छ ? मात्रै हाेइन, त्यससँग ठाेक्किएका अन्य विषयवस्तुबारे मकालुखबरले सहमहामन्त्री आङ्देम्बेसँग  गरेको कुराकानी :

‘पाँचथरमा मेराेबाहेक अरुकाे दाबी पुग्दैन’

आङ्देम्बे  जिल्लाले भाैतिक पूर्वाधारमन्त्री पाउँदा पनि पाँचथरले विकासकाे गति नलिएकाे बताउँछन्, भन्छन्— ‘पाँचथर जिल्लाले केन्द्रको भौतिक पूर्वाधार तथा यातायातमन्त्री पाउँदासम्म जिल्लाको विकास निर्माणले गति लिएन । अब पाँचथरे जनताले मलाई चुन्नेछन् । यो पटकको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट मेरोबाहेक अन्यको दाबी पुग्दैन, यसाे हुँदा मलाई सहज छ ।’ तर, त्यसाे भन्दैमा आफू चुपचाप भएर नबस्ने उनी बताउँछन् । ‘हामी गठबन्धनमा छलफल, सल्लाह तथा विमर्श गरेर अगाडि बढ्ने सोचमा छाैँ । यसो भन्दै गर्दा मैले मेरै दाबी छ भनेको पनि होइन । तर मेरो उम्मेदवारीप्रति गठबन्धनका साथीहरू पनि सकरात्मक हुनुहुन्छ,’ उनी भन्छन् ।

उनी निर्वाचनपछि कांग्रेस बहुमतसहितको पहिलो दल बन्ने र गठबन्धनको नेतृत्व गर्नेमा ढुक्क छन्, भन्छन्— ‘आउँदाे निर्वाचनपछि कांग्रेस सबैभन्दा पहिलाे ठूलाे दल बन्छ । सरकारकाे नेतृत्व पनि यसैले गर्छ ।’

‘आरजू प्रधानमन्त्री बन्नयाेग्य नेता हुन्’

सहमहामन्त्री आङ्देम्बे आरुजू देउवा राणा प्रधानमन्त्री बन्नयाेग्य रहेकाे जिकिर गर्छन् । ‘कमसेकम कांग्रेसमा एउटा महिलाको नाम प्रधानमन्त्रीको नाम आउनु खुसीको कुरा हो,’ उनले भनेका छन्, ‘उहाँ जितेर आउनुभयो र इच्छा जायर गरेर कांग्रेसका साथीहरूले समर्थन गरे बन्न नसक्ने भन्ने छैन । उहाँ बन्न सक्नुहुन्छ ।’

कांग्रेसको केन्द्रीय सदस्य भएकाले पनि उनले प्रधानमन्त्रीकाे दाबी प्रस्तुत गर्नु स्वाभाविक भएकाे उनी बताउँछन् । ‘म पनि कांग्रेसको केन्द्रीय सदस्य हुँ, मैले पनि दाबी गर्न पाउँछु । जाेकाेहीले पनि पाउँछ याे हैसियतमा रहेकाले; यो तिललाई पहाड बनाउनुपर्ने कुरा नै होइन नि !’

सहमहामन्त्री आङ्देम्बे कांग्रेसको गुटले कार्यकर्ता व्यवस्थापनमा चुनाैती देखिएकाे स्वीकार्छन् । ‘कार्यकर्ता व्यवस्थापनमा समस्या भएकै हाे र हुँदै पनि आएकाे हाे । त्यहाँ गुट-उपगुटका कारण समस्या आएकाे हाे । हुन त त्यसमा पनि गठबन्धन हुँदा कतिपय साथीहरूले अवसर पाएका छैनन् । यसलाई मिलाएर लानुपर्ने चुनाैती नेतृत्वमा छ,’ उनले भनेका छन् ।

‘कांग्रेसले ठूलाे भाग खाेजेकाे छैन’

सहमहामन्त्री आङ्देम्बे कांग्रेसले ठूलो भाग नखोजेको जिकिर गर्छन् । उसाे त गठबन्धनका अन्य घटकहरूले याे आराेप लगाउँदै नै आएका छन् । गत स्थानीय तह सदस्य निर्वाचनमा सफलता प्राप्त भएकाे निष्कर्ष निकालेकाे कांग्रेसलाई अन्य घटकहरूले गठबन्धनले का‌ग्रेसलाई मात्रै फाइदा भएकाे जिकिर गर्दै आएका छन् ।यहीतर्फ इङ्गित गर्दै उनले भनेका छन्, ‘सिट बाडँफाँटको छिनोफानो चाँडै हुनेछ । कांग्रेसले ठूलो भाग खोजेको छैन । सहमतिमा सिट बाँडफाँट हुन्छ । हामीले स्थानीय तहको निर्वाचनमा ल्याएको परिणाम तथा २०७४ सालको संघीय निर्वाचनमा आएको परिणामका आधारमा सिट बाँडफाँटको माेडालिटीसमेत तयार पारेका छाैँ । त्यसकारण कसैको चित्त दुखाउने र दुख्नेगरी भागबन्डा हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *