चितवन ३ : प्रचण्डविरुद्ध को-को आउन सक्छन् चुनावी मैदानमा ?

चितवन । चितवनले निर्वाचनको समयमा खुब चर्चा पाउँछ । स्थानीय तहको चुनावमा होस् या संघीय संसद्को चुनावमा होस् चितवन निर्वाचनमा चर्चाको केन्द्रमा हुन्छ । यस्तो पनि भनिन्छ, चितवनको चुनावको चर्चा नसुनेसम्म चुनाव नै लागेजस्तो हुँदैन ।

चितवन ‘हेभिवेट’ नेताहरूको गृह जिल्ला हो, त्यसैले त यहाँको चुनावी चर्चाले केन्द्र नै तताउँछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमालेकै अर्का उपाध्यक्ष रामबहादुर थापा बादल, जस्ता ‘हेभिवेट’ नेता भएका जिल्ला हो, चितवन । जसका कारण चितवनले चुनावमा चर्चा खुब कमाउँछ ।

चितवनमा प्रतिनिधिसभाका ३ वटा निर्वाचन क्षेत्र छन् । तीन वटा क्षेत्रमा ०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए । मङ्सिर ४ गते हुने संघीय सांसदको चुनावमा अहिले वाम गठबन्धन बन्ने सम्भावना ज्यादै कम छ भने नेपाली कांग्रेससहितको हालको सत्तारुढ दलको पाँच दलीय गठबन्धन कायम हुने सम्भावना छ ।

चितवन क्षेत्र नम्बर ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र हो । उनी यसअघि २०७४ को चुनावमा सोही क्षेत्रबाट तत्कालीन नेकपाको उम्मेदवार बनेर विजयी भएका थिए ।

२०७४ मा अध्यक्ष प्रचण्डले राप्रपाका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । कांग्रेससहितको गठबन्धनबाट पाण्डे उम्मेदवार बनेका थिए । प्रचण्डले ४६ हजार २६९ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याए ।

अहिले मङ्सिर ४ गते हुने चुनावमा प्रचण्ड सत्तारुढ गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने पक्का भइसकेको चितवन माओवादी केन्द्रले जनाएको छ । कुनै फेरबदल नआए प्रचण्ड अहिलेको पाँच दलीय गठबन्धनबाट फेरि चितवन ३ बाट उठ्ने छन् । अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु भन्दै आएका छन् । केही दिनअघि जापानमा पत्रकारमाझ उनले भनेका थिए, ‘म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु क्लियर हुनुहोला ।’

अध्यक्ष प्रचण्डलाई काउन्टर दिन नेकपा एमालेले कसलाई चुनावी मैदानमा पठाउँछ भन्ने विषयमा चर्चा परिचर्चा हुन थालेको छ । नेकपा एमाले चितवनले प्रचण्डविरुद्ध एमालेका पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल पनि चुनावी मैदानमा उत्रन सक्ने जनाएको छ । त्यसो त केही समयअघि बादल चितवन आएर ‘अबको चुनावमा बादल भर्सेज प्रचण्ड’ हुनसक्ने बताएका थिए ।

हुन त बादलको क्षेत्र चितवन–२ हो । २०७४ मा सो क्षेत्रबाट नेकपाबाट कृष्णभक्त पोख्रेल निर्वाचित भएका थिए । तत्कालीन नेकपा हुँदा बादल चितवन क्षेत्र नं २ बाट उठ्न खोजेको थिए, तर त्यतिबेला प्रचण्डकै आग्रहमा बादल समानुपातिकमा बसेर कृष्णभक्तलाई टिकट दिइएको थियो ।

शीर्ष नेतालाई शीर्ष नेता नै चुनावी मैदानमा उतार्ने एमालेको अहिलेको रणनीतिलाई आधार मान्ने हो भने प्रचण्ड विरुद्ध बादल पनि उठ्न सक्ने एमालेका एक नेता बताउँछन् । ती नेता भन्छन्, ‘शीर्ष नेताविरुद्ध एमालेले पनि शीर्ष नेता नै मैदानमा उतार्छ, त्यस कारण प्रचण्ड विरुद्ध बादल उठ्न पनि सक्नुहुन्छ, अथवा अरू कुनै शीर्ष नेता उठ्नुहुन्छ, तर प्रचण्डको क्षेत्रमा कमजोर उम्मेदवार हुनेछैन ।’

उनका अनुसार बादल कमरेडलाई प्रचण्ड विरुद्ध चुनावी मैदानमा उतार्ने कि नउतार्ने भन्ने विषयमा पार्टीमा छलफल हुनेछ । उनले भने, ‘पार्टीको निर्णय नै सर्वोपरि हुन्छ, अनि उम्मेदवारको रुचिको विषय पनि रहन्छ, अहिले यस विषयमा कुनै ठोकुवा गर्न सकिँदैन ।’

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली चितवन क्षेत्र नम्बर ३ का हुन् । उनले पनि पार्टीले प्रचण्ड विरुद्ध आफूलाई उम्मेदवार बनायो भने उठ्न तयार भएको बताएका छन् ।

उनले भने, ‘उम्मेदवार छनौटमा पार्टी पुगिसकेको छैन, धेरै छलफलहरू केन्द्रमा हुन बाँकी छ । तर मलाई पार्टीले चितवन क्षेत्र नम्बर ३ बाट उठ्न निर्देशन दियो भने ब्याक हट्नेछैन, विपक्षी जुनसुकै नेता उठे पनि पार्टीले निर्देशन दियो भने भाग्ने कुरा त आउँदैन । म त पार्टीको सच्चा सिपाही भएको हँ कर्तव्य पूरा गर्नेछु ।’

नेकपा एमालेले राप्रपालगायतका साना दलसँग चुनावमा सहकार्य गर्न सक्ने पनि देखिन्छ । यदि एमालेको राप्रपासँग तालमेल भयो भने चितवन क्षेत्र नम्बर ३ राप्रपालाई छोड्नुपर्ने अवस्था आउँछ । चितवन ३ राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको पनि क्षेत्र हो । राप्रपा र एमालेको तालमेल भयो भने प्रचण्ड विरुद्ध राप्रपाका नेता विक्रम पाण्डे पनि चुनावी मैदानमा आउन सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी तालमेललगायतका विषयमा छलफल भएको थियो । निरन्तर छलफल र राप्रपा र एमालेबिच तालमेल भएको खण्डमा चितवन ३ मा राप्रपाका विक्रम पाण्डे प्रचण्ड विरुद्ध चुनावी मैदानमा आउन सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *