गिरी राजनीतिक प्रेरणाका स्रोत हुनुहुन्थ्याे : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्‍याउनुभएको बताए । उनले भने, “बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उनको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उनले सदैव समाजसेवामा मात्र प्रयोग गरेका थिए”, अध्यक्ष दाहालले भने ।

यसैगरी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केही बेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =