हवल्दार नरेशसिंहलाई बिचल्लीमा पार्ने रासनकाण्ड : एसपीको जिम्मेवारी खोसियो

धनगढी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको छ । आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले विष्टको जिम्मेवारी खोसिएको पुष्टि गरे । ‘गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय तानेर छानबिन सुरु गरिएको छ,’ डिआइजी भट्टराईले भने, ‘अहिले नै त्यसबारे धेरै भन्न सकिँदैन ।’ ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ ।

रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले एसपी विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो । यसअघि नै एसपी विष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टीकरण सोधेको थियो ।

जेलमा हवलदार

२८ जेठमा धनगढीबाट प्रकाशन हुने एक सञ्चारमाध्यममा ‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा १’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो । यद्यपि समाचारमा स्रोत भने खुलाएको थिएन ।

समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बदनियत पूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’ खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्‍याउनेको खोजी गर्न एसपी विष्ट स्वयम् खटिए ।

सो क्रममा हरेक सिपाहीको मोबाइल परीक्षण गर्न थालियो । वरिष्ठ हवलदार नरेशसिंह साहुले मोबाइलमा फेसबुक र प्यासेन्जर अन इन्स्टल गरेको पाइयो । रासनमा हुने बेथितिबारे समाचार आएसँगै साहुले फेसबुक र प्यासेन्जर अन इन्स्टल गरेका थिए । मिडियासम्म विवरण पुर्‍याउनेको खोजी गर्दा साहुमाथि शंका बढेपछि उनको मोबाइलमा प्यासेन्जर इन्स्टल गरियो र पत्रकार सन्तोषसिंह ठगुन्नासँग भएको कुराकानी फेला पर्‍यो । म्यासेन्जरमा सशस्त्र प्रहरी भित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आसमा साहुले रासनका नाममा हुने बेथितिबारे मात्रै सूचना दिएका थिए ।

त्यसपछि नम्बर ४४ गणले पत्रकार ठगुन्नालाई कार्यालयमा बोलायो । पत्रकार ठगुन्नाले स्रोतको सुरक्षा गर्नुको सट्टा सूचना दिने साहु नै हुन भनेर पुष्टि गर्दा साहुमाथि झनै संकट पर्‍यो । मिडियासम्म खबर पुगाएको भन्दै जेठ महिनाको अन्तिममा साहुलाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा लगियो ।

केही दिनपछि हेडक्वार्टर पठाइयो । साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो । साहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ । तर साहुले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए । सुरक्षासँग सम्बन्धित सूचना तथा खबर राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा जन्मकैदको सजाय हुने व्यवस्था भएकोले सोहीअनुसार माग दाबीसहित सशस्त्र प्रहरीले मुद्दा दर्ता गरेको छ ।

मुचुल्का र मुद्दा फाइलमा भने साहुले मिडियासम्म पुगाएको हाजिरी विवरण वास्तविक भएको उल्लेख छ । वास्तविक सूचना दिएकै कारण हवलदार साहुलाई जन्मकैद माग गर्दै जेल हालिएको छ । तर सूचनाको हकसम्बन्धी ऐनमा भने सूचना दिएकै आधारमा कैद सजाय हुने व्यवस्था छैन ।

पर्वत दरबन्दी भई काजमा दार्चुलामा कार्यरत रहेका वरिष्ठ हवलदार साहुलाई सशस्त्र प्रहरीमा १९ वर्ष पुगिसकेको छ । दार्चुलाको महाकाली नगरपालिका–२ मुल्ला घर भएका उनको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा पनि बसोबास छ । घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाइको मृत्युपछि भतिजाहरूको लालन पालनको जिम्मेवारी पनि साहुमाथि नै थियो । तर पेन्सन खान एक वर्ष बाँकी रहँदा साहु जेल परेपछि परिवारको बिचल्ली भएको छ । स्राेतः INS

सम्बन्धित समाचार

पत्रकार स्राेतका बारेमा संवेदनशील नबन्दा फन्दामा हवल्दार, परिवारको बिजोग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *