सेवा प्रवाह चुस्त बनाउन उपप्रमुखको छड्के अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरूको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रूपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरिन् । उपप्रमुख कार्कीले ७ र ८ नम्बर वडा कार्यालयको अनुगमन समेत गरिन् । अनुगमनको क्रममा कतिपय कर्मचारी एक ठाउँमा जम्मा भएर गफिने र सेवाग्राहीको काम समेत नगरेको पाइएको छ ।

कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । वडादेखि नै छिटोछरितो सेवा प्रवाह भएमा जनगुनासो आउने क्रममा कमी हुने उनको भनाई छ । ‘वडास्तरदेखि नै जनताका काम सहज रूपमा हुनुपर्छ,’ उनले भने, त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौँ ।’

उनले जनताको कामलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिइन् । उपप्रमुख कार्कीले बिहीबार नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गरिन् । उपप्रमुख कार्कीले तीनवटै कार्यालयको हाजिरी पुस्तिकासमेत चेक गरेको शिक्षा महाशाखाले जनाएको छ । केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *