दुई सन्तानसहित जलुदेवी कञ्चनपुरको अनाथ आश्रममा

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जलुदेवी बुढालाई कञ्चनपुरको श्री कृष्ण प्रणाम सेवाधाम अनाथ आश्रममा राखिएको छ । लुगेना घर नजिकैको ओडारमा बस्दै आएकी जलुलाई वडा अध्यक्ष वीरबहादुर रावलको पहलमा उद्धार गरी कञ्चनपुरको आश्रममा राखिएको हो ।

जलुको सामाजिक अभियन्ता यशोदा भट्ट ‘चोखाल’ र दृष्टि फाउण्डेशनकी सञ्चालक कल्पना भट्टको अग्रसरता तथा वडा अध्यक्ष रावलको पहलमा गत शुक्रबार बुढाको उद्धार गरिएको थियो । आफू काठमाडौँ भएपनि उद्धारको पहल गरी खप्तड छेडेदह-१ काँडाबाट धनगढी झिकाएका वडा अध्यक्ष रावलले आज दुई छोरालाई कञ्चनपुरको आश्रममा पुर्‍याएका हुन् ।

वडा अध्यक्ष रावलले ५२ वर्षीया जलुदेवीसहित उनका १२ वर्षीय छोरा कुशल र ५ वर्षीय छोरा मीन बुढालाई आश्रम सञ्चालक शेरबहादुर रोकायालाई बुझाएका जानकारी दिए । जेठो छोरालाई आइतबार नै अत्तरियास्थित दुर्गा लक्ष्मी माविमा भर्ना गरिने सहमति भएको रावलले बताए । कान्छोलाई भने केही महिनापछि विद्यालय पठाउने तयारी भएको हो ।

बच्चाको भविष्यलाई मध्ये नजर गर्दै उनलाई ओडारबाट उद्धार गरी कञ्चनपुर पुगाएको वडा अध्यक्ष रावलको भनाई छ । जलुदेवीको उद्धारका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै वडा अध्यक्ष रावलले घटनाको सत्यतथ्य बुझेर मात्रै अभिव्यक्ति दिन आग्रह गरे ।

उनले उद्धारको जस लिन सबै तम्सिएको गुनासो गरेका छन् । विकट क्षेत्रबाट उद्धार गरेर यहाँसम्म पुर्‍याउँदाको दुःखलाई भुलेर केही व्यक्तिबाट नकारात्मक टिप्पणी हुने गरेको रावलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *