नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको आवश्यक

काठमाडाैँ । सांसदहरूले नागरिकता विधेयकमा राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनीहरूले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा राजनीतिक दलबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता औँल्याए ।
सांसद मायादेवी न्यौपानेले सत्तापक्ष र विपक्षी दलले राजनीतिक सहमतिका आधारमा नागरिकता विधेयक पारित गर्नुपर्ने बताइन् । सांसद मीना सुब्बाले राष्ट्रपतिले विधेयक फिर्ता गर्न नहुने भन्दै यसलाई बहुमतले पारितले गर्नुपर्ने बताइन् ।
सांसद गोमा देवकोटाले सबै नागरिकले सहज तरिकाले नागरिकता पाउनुपर्दछ भनिन् । सांसद आशाकुमारी विकले नागरिकता नदिने भनेको नभई अन्य देशको अभ्यास हेरेर अङ्गीकृत नागरिकता सात वर्षपछि प्रदान गर्नुपर्ने बताइन् । “टाउको गनेर विधेयक पास गर्न हुँदैन । अङ्गीकृत नागरिकताको सवालमा राष्ट्रिय सहमति गरेर जाऊ”, उनले भनिन् ।
सांसद विनाकुमारी श्रेष्ठले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएको बताइन् । सांसद सुजिता शाक्यले अङ्गीकृत नागरिकता सार्क मुलुकमा नभएको व्यवस्थालाई हाम्रो मुलुकले राख्न नहुने बताइन् । नागरिकताको लचिलोपनले मुलुकलाई नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
सांसद थममाया थापाले विधेयकलाई व्यापक छलफल गरेर राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताइन् । सांसद रामकुमारी चौधरीले लाखौँ युवाले नागरिकता नपाएको सन्दर्भमा विधेयक सही रहेकाले पारित गर्नुपर्ने धारणा राखिन् । सांसद मोहन बानियाँले विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताइन् ।
अर्का सांसद मनकुमारी जिसीले अङ्गीकृत नागरिकताको स्थायी समाधान हुनुपर्ने बताइन् । सांसद तुलसा थापाले फिर्ता भएको विधेयकलाई गम्भीरतापूर्वक सोचेर पुनर्विचार गर्नु आवश्यक रहेको बताइन् । “ भविष्यका सन्ततिले दुःख नपाउने गरी विधेयकलाई व्यापक छलफल गर्नुपर्दछ”, उनले भनिन् ।
सांसद सरलाकुमारी यादवले संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित नगरेकाले विधेयक ल्याइएको बताइन् । अर्का सांसद कृष्णकुमार राईले हठात् विधेयक पास गर्नु गलत रहेको बताउनुभयो । त्यस्तै सांसद गङ्गाकुमारी चौधरीले भनिन्, “एमाले पनि सबै नेपालीलाई नागरिकता उपलब्ध गराउने पक्षमा नै रहेको छ । ”








