एक्लै हुँदा एमालेलाई उम्मेदवार छान्न सहज, गठबन्धनलाई चुनौती

विराटनगर । नेकपा एमाले चुनावी मैदानमा कसलाई उम्मेदवार बनाएर जाने भन्ने तयारीमा लागिरहेको अवस्थामा गठबन्धन भित्र भने अन्यौलता देखिएको छ । सङ्घीय निर्वाचन क्षेत्रमा करिब निश्चित जस्तै रहेको एमालेको मोरङमा प्रदेश निर्वाचन क्षेत्रमा पनि चर्चामा आएका नामहरू सार्वजनिक हुन थालेका छन् ।

नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र शिवमाया तुम्बाहाम्फे मध्ये एक जनालाई उठाउने तयारी गरिरहँदा क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेललाई उठाउँदै छ ।

त्यस्तै क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाल, क्षेत्र नम्बर ४ मा विनोद ढकाल र जीवन घिमिरे मध्ये एक जना उम्मेदवार बनाउँदै छ । क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डललाई उम्मेदवार बनाउने तयारी भएको नेकपा एमालेले क्षेत्र नम्बर ६ मा अहिलेका प्रतिनिधि सभाका सांसद लालबाबु पण्डितको दोहोर्‍याउने चर्चा छ ।

यो त प्रतिनिधि सभाको निर्वाचनमा एमालेले अघि सारेमा सम्भावित उम्मेदवारको नाम भयो । त्यस्तै प्रदेश सभाको निर्वाचनमा सम्भावित उम्मेदवार को को हुन सक्छन् भन्ने तयारी भइरहेको नेकपा एमाले मोरङले जनाएको छ।

प्रदेशमा एमालेका यी नाम चर्चा

नेकपा एमालेले प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (क) मा भूपाल जिमी, देवीप्रसाद आचार्य र रूपेश खतिवडाको नाम चर्चामा आएको छ। (ख) निर्वाचन क्षेत्रमा डिल्लीराम शर्मा अधिकारी, खड्ग बस्नेत र शान्ति लिम्बुको चर्चा छ । लिम्बु यस अघि गाउँपालिकाको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् । क्षेत्र नम्बर २ (क) मा नेकपा एमालेले मेघराज कट्टेल, हसन ईमाम बक्स, देवी कार्कीको नाम आएको छ। निर्वाचन क्षेत्र (ख) बाट लिलाबल्लभ अधिकारी, डिल्ली दाहाल र ईरजा राजवंशीको नाम चर्चामा छ। अहिलेका प्रदेश सभा सदस्य अधिकारीको सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ (क) मा रामकुमार बस्नेत र दिलीप राई (किशोर)को नाम आइरहँदा निर्वाचन क्षेत्र (ख) मा राजकुमार ओझा, ज्ञानेन्द्र सुबेदी र राजकुमार बस्नेत चर्चामा छन् । यो क्षेत्रमा यस अघिका मेयर र सांसदहरू मध्ये एकले टिकट पाउने एमाले श्रोत बताउँछ ।

निर्वाचन क्षेत्र (क) मा राई पथरी शनिश्चरेका मेयर हुन भने ।९ख० मा नाम आएका राजकुमार अहिलेका प्रदेश सभा सदस्य र सुबेदी यस अघि बेलबारी नगरपालिकाका मेयर भएका व्यक्ति हुन् ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा कुमार आचार्य, नरेन्द्र बस्नेत र राजकिशोर विश्वासको नाम आएको छ भने (ख) मा जीवन घिमिरे सहित महेश भट्टराईलाई पनि चर्चामा ल्याइएको छ। यो क्षेत्रमा जीवन घिमिरेले सङ्घीय निर्वाचन क्षेत्रमा टिकट पाएको अवस्थामा भट्टराईको सम्भावना देखिएको छ भने सङ्घीय सांसदमा टिकट नपाई प्रदेशमा उठ्ने अवस्थामा यो क्षेत्रमा घिमिरे एक्लो दाबेदार हुने बताइन्छ ।

क्षेत्र नम्बर ५ (क) ज्ञानेश्वर राजवंशी, सन्तोष साह र मनोज अग्रवालको नाम पनि चर्चामा ल्याइएको छ। त्यस्तै (ख) बाट रामलाल साह, बालेश्वर कामत, मिना यादव र दिलसाद आलमको नाम चर्चामा ल्याइएको छ। क्षेत्र नम्बर ६ (क) मा सत्यनारायण चौधरीको एक्लो नाममा हरि घिमिरेको नाम पनि चर्चामा ल्याइएको छ। त्यस्तै (ख) मा परशुराम बस्नेत र रमेश पोखरेल मध्ये एकलाई उम्मेदवार बनाएर जाने तयारीमा नेकपा एमाले देखिएको छ।

नेकपा एमालेका सचिव रूपेश खतिवडाले अहिले नामहरू चर्चामा ल्याउने काम तल्लो तहबाट भएपनि पार्टीले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा निर्णयमा नपुगिसकेको बताए । ‘अहिले एमालेले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ’, उनले भने, ‘अहिले पार्टी कमिटी परिचालनको कुरा रहेको छ, उम्मेदवार छनौटको कुरा असोज लागेपछि सुरु हुनेछ ।’

नेकपा एमालेले चुनावी अभियानलाई लिएर द्रुत गतिमा जनतामा पुग्ने काम गरिरहेको खतिवडाले बताए ।

गठबन्धनमा अन्यौलता

नेकपा एमालेले आफ्ना चुनावी अभियानहरू तीव्र बनाई रहेको अवस्थामा गठबन्धन भित्रका दलहरू कसलाई उम्मेदवार बनाउने या नबनाउने भन्नेमा अन्यौलता देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउने काम केन्द्रबाट नै हुने भएकोले माथिको निर्णय पर्खिएर बसेको नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वास बताउँछन् ।

‘हामीले हाम्रो तर्फबाट आन्तरिक भेटघाट र छलफल भएपनि कुनै उम्मेदवारको बारेमा कुरा गरेका छैनौँ’, उनले भने, ‘कुन निर्वाचन क्षेत्र कसलाई पर्छ भन्ने नै स्पष्ट नभएको अवस्थामा उम्मेदवारको चर्चा हुने कुरै भएन ।’

नेकपा माओवादी केन्द्रमा मात्र हैन नेकपा एकीकृत समाजवादी पनि गठबन्धनको निर्णय पर्ख र हेरको अवस्थामा देखिएको छ। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले अहिलेसम्म चुनावी गतिविधि धेरै नभएको बताए । पार्टीको आन्तरिक गतिविधिहरू भएपनि उम्मेदवार को बन्ने भन्ने बारेमा चर्चा नै हुन नसकेको सुनाए ।

‘हामीलाई स्थानीय तहको निर्वाचनमा पनि धोका भएको छ’, उनले भने, ‘माथिको निर्णय कसरी भएर आउँछ त्यसको आधारमा पार्टीले निर्णय लिएर अघि बढ्ने हो, गठबन्धन गर्दा कसरी जाने र नबन्दा कसरी जाने भनेर दुवै कोणबाट विश्लेषण गरेर चुनावी मैदानमा जाने तयारी छ ।’

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा बाहेक एक्ला एक्लै चुनावी मैदानमा होमिएको नेपाली कांग्रेस मोरङमा कसरी अघि बढ्ला भन्ने अहिले सबैको चासोको रूपमा लिइएको छ । धेरै केन्द्रीय नेताहरू रहेको मोरङ जिल्लामा अरू दललाई भन्दा नेपाली कांग्रेसलाई नेता व्यवस्थापनमा चुनौती देखिएको छ।

एउटै क्षेत्रमा केन्द्रीय नेताहरू आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा भोलि त्यसको व्यवस्थापन सकस हुने कांग्रेस भित्रै आकलन सुरु भएको छ । उम्मेदवार को हुने भन्दा पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा नेपाली कांग्रेस आन्तरिक गृहकार्यमा देखिएको नेपाली कांग्रेसका नेताहरू बताउन थालेका छन् ।

एक नेताका अनुसार यस अघिको निर्वाचनमा उम्मेदवार भएका निर्वाचन क्षेत्रमा ती नेताहरूले छोड्नै चाहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *