भुसमा आगाेझैँ फैलिँदै काेराेना, सरकारी सचेतता ‘शून्य’ !

काठमाडाैँ । पछिल्लो केही सातायता कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या बढ्ने भइहाल्याे । कोरोना संक्रमण बढेपनि हाम्रो सरकार र समाजकाे बेवास्तापन उस्तै छ । साउन भर्खरै सकियाे, साउनभरि खासगरी हिन्दू धर्मावलम्बीहरू मठ-मन्दिर जाने क्रम बढेकाे थियाे । अन्य भक्तजनहरूकाे चाप पनि कमचाहिँ थिएन । जुनसुकै मन्दिरमा पनि भक्तजनहरूकाे सानाे भीड थिएन । त्यसले पनि काेराेना फैलाउन मद्दत गर्याे भनेर स्वास्थ्यकर्मीहरूले भने । तर, तीमध्ये कसैले पनि जनस्वास्थ्य मापदण्डको पालना गरेकाे देखिएन ।
मास्क लगाउन न हेलचेक्र्याइँ गरिएको छ भने भौतिक दूरी पालना अकल्पनीय विषय भइहाल्यो । यता, हलहरूमा पनि उत्तिकै भीड छ । फिल्म हेर्न जाने दर्शकहरूकाे लर्काे सानाे छैन । उनीहरू पनि निस्फिक्री नै छन् । उता रात्रिकालिन व्यवसायहरूकाे के कुरा गराइ भयाे र ! कहीँ पनि यसअघि सरकारले बनाएको जनस्वास्थ्य मापदण्ड पालना भएकाे देखिँदैन । दोहोरी साँझ, डान्स बारलगायत मनोरञ्जनात्मक क्षेत्र यतिबेला कोरोना फैलाउने मुख्य थलाे बनेका छन् ।
देशभर रहेका तरकारी बजारमा देखिने भीडसँग पनि काेराेनासँग डर छैन । उनीहरू बेपरवाह-बेपरवाह देखिन्छन् । कालिमाटी, बल्खु, तीनकुने, चाबहिललगायत उपत्यकाका विभिन्न तरकारी तथा फलफूल बजार कोरोनाले मन पराउने ठाउँ बनेका छन् । भीड छ नै त्यस्तै । व्यापारी र ग्राहक दुवैको मुखमा मास्क देखिँदैन । यसप्रति सरकार मूकदर्शक बनेकाे बन्यै छ । ऊ केही गर्न चाहँदैन ।
यता, छिमेकी मुलुकबाट तरकारी ओसार्ने चालक तथा सह-चालकहरूमा पनि काेराेनाप्रतिकाे बाेध शून्य देखिन्छ । जनस्वास्थ्य मापदण्ड पालना गर्नु त उनीहरूका लागि परैकाे कुरा भइहाल्याे । याे पनि एउटा मुख्य कारक बनेकाे छ कि पछिल्लाे दिनमा कसरी काेराेना फैलिरहेकाे छ भन्ने सन्दर्भकाे । विदेशी मुलुकबाट नेपाल भित्रिएकाहरू सिधै आफ्नो घर पुग्छन् । कमसेकम यसअघि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नीति थियाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावकारी हेल्थ डेस्क नै छैन । उता, हवाईजहाजमा पनि सरकारले कोरोना नियन्त्रणका लागि बनाएका नियम पालना भएको छैन । न क्वारेन्टाइनकाे प्रबन्ध नै मिलाउन सकिएको छ । यसले कोरोनालाई थप हावा दिइरहेको छ । जबकि ऊ अझै बढ्ने छ ।
लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकहरू बेफिक्री देखिन्छन् । उनीहरू ‘मैले त जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्दैन’ भनेर हिँडेझैँ लाग्छ । उनीहरू धेरै गैरजिम्मेवार देखिन्छन् । उनीहरू मास्क लगाउँदैनन् । सरकारले भीडभाड नगर्नु भनेर निर्देशन दिइरहेको बेला उनीहरू गुन्द्रुक खादेसरह यात्रु खाँद्छन् । सरकारी कार्यालय नै सरकारको मापदण्ड पालना गर्न चुकेको छ । कर्मचारी र सेवाग्राही दुवै कोरोना फैलाउन तम्सिएका छन् र जानी-नजानी फैलाइरहेकै छन् ।
भीड हेर्नेलाई मेला लागेझैँ अनुभूति हुनसक्छ । सिस्टमबिना सरकारी कार्यालय सञ्चालन हुँदा कोरोना बढ्ने निश्चित छ । अस्पतालको हाल पनि बेहाल छ । बिरामी र कुरुवा दुवैले जनस्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । अस्पताल घुमघामका लागि जाने स्थलझै बनेको छ । बेफिक्री कोरोनालाई नै चुनौती दिएर हिँड्ने क्रम बढेको छ । जसले ठूलो क्षति निम्त्याउन सक्छ ।
यत्तिसम्म कि अस्पतालमै जनस्वास्थ्य मापदण्डको पालना भएकाे छैन । पार्टी प्यालेसहरूमा अहिले पनि थुप्रै कार्यक्रम सञ्चालित छन् । विवाह, ब्रतबन्ध, भोजलगायत उत्सवहरू पार्टी प्यालेसमै मनाउने गरिएको छ । यता, वित्तीय संस्थामा पनि उत्तिकै भीड छ । तर, सबै क्षेत्र कोरोनाको मापदण्ड पूरा गर्न कही कतै चुकेको देख्न सकिन्छ ।
भिडियो र फिल्महरूको धमाधम सुटिङ भइरहेको छ । सुटिङ स्पटमा कलाकारदेखि दर्शकसम्मकाे ठूलै भीड देखिन्छ । तर, न भीडले मापदण्डको पालना गर्छ, न कलाकारले । भाटभटेनीलगायत अन्य थुप्रै सुपरमार्केट, होटल, रेष्टुरेण्टको पनि उही हाल छ । अटोशोरुम र वर्कसपले पनि कोरोना उत्पादन गर्न सहयोग गरिरहेको छ । फुटपाथ पसलेहरू त झन् निस्फिक्री छन् ।
बाटोमा मास्क नलगाइ हिँडेको प्रशस्तै भेटिन्छन् । स्वास्थ्य मापदण्ड पालना नगरीकन निस्फ्रिकी हिँड्ने क्रम रोकिएको छैन । स्कूल र कलेजजस्तो ठाँउमा झनै लापरवाही देखिन्छ । स-साना विद्यार्थी पढ्ने ठाँउमा गरेको हेलचेक्रयाइँले कोरोना थप बढाउनेछ । विद्यार्थीले मात्र नभइ शिक्षकले समेत मास्क लगाएका छैनन् । कोरोनाले बढ्दो रूप लिएपछि कतिपय अभिभावकले छोराछोरी विद्यालय पठाउन छोडिसकेका छन् ।
कतिपय गाँउपालिका–नगरपालिकाले त स्कूल नै बन्द गरिदिएका छन् । पछिल्लो समय हात मिलाउने र अँगालो हाल्न काम बढेको छ । यसअघि कोरोना देखिँदा सबैले ‘नमस्ते’लाई प्राथमिता दिएका थिए । तर, फेरिपनि हात मिलाउन थालिएको छ । घर-घरमा फोहोर संकलन गर्ने र कबाडी लिन आउनेहरू काेराेना पुर्याउन आएजस्तै लाग्छ । उनीहरूले पनि जनस्वास्थ्य मापदण्ड पालनामा शून्यमै छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ कोरोनाको तथ्याङ्क सार्वजनिक गर्दछ । जसअनुसार उपत्यकामा कोरोना संक्रमण हुने दर बढिरहेको छ । अधिकांश भीडभाड हुने ठाँउमा कसरी मापदण्ड पालना गराउने ? यसतर्फ मन्त्रालयको ध्यान गएको छैन । नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, न्यूराेड, रत्नपार्कलगायतका क्षेत्रमा यत्तिकै भीडभाड छ । फुटपाथमा खुट्टा राखेर हिँड्न सक्ने अवस्था छैन । अब साेच्नुस्, त्यस्ताेमा काेराेनाले के गर्ला ?
दर्शन गर्ने नाममा भारतीय नागरिकहरू धमाधम राजधानी काठमाडाैँ छिरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भनेर नेपाल छिर्नेको क्रम राेकिएकाे छैन । तर, नाकामा कोरोना चेकजाँच शून्यजस्तै छ । ७७ जिल्लाका सर्वसाधारणहरू काम लिएर, घुमघाम गर्न काठमाडाैँ आइरहेका छन् । तर, नाकामा उनीहरूको परीक्षण गरिँदैन । गाँउपालिका र नगरपालिकाले कोरोना जाँच्ने कार्यलाई प्राथमिकता दिएका छैनन् ।
यता, काठमाडाैँबाट गाउँघर जानेलाई पनि कडाइ गरिनुपर्छ । उपत्यका भित्रिने साँगा र थानकोट नाकामा जतिसक्दो कडाइ गर्नुपर्छ । उपत्यकाका नगरप्रमुखहरूले कोरोनालाई बेवास्ता गरेका छन् । यता, सुरक्षाकर्मीहरू पनि जथाभावीरूपमा ड्यूटी गरिरहेका छन् । आफू पनि सतर्क हुनुपर्छ, अरुलाई सजग बनाउनुपर्छ भनेर उनीहरूमै चेतना नभएको हो ? या बुझ पचाएका छन् । जे हाेस् यसले कसैलाई राम्राे गर्दैन ।
राजनीतिक पार्टीहरूले जनता भेला गरेर कार्यक्रम गरिरहेका छन् । कोरोना फैलाउन जिम्मेवार सरकारमा रहेका दलहरू नै उद्धत छन् । कोरोनाकै कारण झण्डै १२ हजारको ज्यान गएको छ । कोरोना जितेर आउनेलाई पनि त्यसको व्यथा थाहा छ । तर, सरकारले अझै पनि मतलब दिएकाे छैन । १२ हजार सरकारका लागि थोरै भएको हो ? कोरोना नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले नै चासो दिएका छैनन् । मठ-मन्दिर बन्द गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान गएको छैन ।
शिक्षा मन्त्रालयलाई विद्यार्थीको ज्यान ख्याल-ख्याल भएको छ । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले भीड कसरी कम गर्ने भन्नेबारे सोचेको छैन । वकालत गर्ने ठाँउ, संग्रहालय र चिडियाखानामा पनि उस्तै पारा छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ कडाइ पनि नगर्ने, निषेधाज्ञा जारी पनि नगर्ने र जनताले तिरेको करबाट तलबभत्ता मात्र खाइरहने पक्षमा छन् । खोप लगाएको छ भनेर ढुक्कसँग बस्ने अवस्था छैन । याे खापुङलाई थाहै छैन ।
खोप लगाएकाहरूलाई पनि कोरोना लाग्छ भनेर चिकित्सकहरूले भनिरहेका छन् । दैनिक कोरोना बढेको छ भनेर तथ्याङ्क सार्वजनिक गर्ने । तर, कम गर्नचाहिँ नतात्ने । बरु, जनतामा त्राश फैलाउनुबाहेक केही काम नभएकाे दिनहुँ सूचना पनि जारी गर्न छोडिदिए भइहाल्थ्याे नि । बेकारमा कोरोनाको तथ्याङ्क गरेर जनतालाई किन त्रसित बनाउने ?








