‘शान्ति क्षेत्रकाे प्रस्ताव’ फेरि अगाडि बढाउनुपर्छ, ‘सिरुपाते’ले लड्न सकिँदैन : राम कार्की (अन्तर्वार्ता)

काठमाडाैँ । राम कार्की ‘पार्थ’ नेपाली वामपन्थी वृत्तका एक वैचारिक नेता हुन् । नेकपा (माओवादी केन्द्र) सम्बद्ध कार्कीले पार्टीभित्र पनि भिन्नै पहिचान बनाएका छन् । उनी नेतृत्वलाई सबै ठाउँ, निर्णय र कदममा मान्नैपर्छ भन्ने ठान्दैनन् । त्यसैले त उनले पार्टीकाे निर्णय, पार्टीकाे दस्तावेज तथा गलत र दीर्घकालीन असर पर्ने काम/कारबाहीविरुद्ध फरक मत दर्ज गर्छन् । उनकाे विश्वास छ— ‘सत्य एकदिन बिक्छ ।’

२०७८ पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडाैँमा चलेकाे ८औँ राष्ट्रिय महाधिवेशनमा पनि उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे दस्तावेजमाथि पूरक दस्तावेज हालेका थिए । अध्यक्ष प्रचण्डको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि कार्कीले  ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा काउन्टर दस्तावेज दर्ज गराएका थिए । उनले यहाँ मात्रै हाेइन, हेटाैँडा महाधिवेशनमा समेत फरक मत राखेका थिए । जे हाेस् उनी ठान्छन् कि, थाेरैले मात्रै मानून्, तर सत्य मानून् । उनले दाेहाेर्‍याएर भने—  ‘बढी मान्छे गए भन्दैमा म गलत बाटाेमा जान्नँ । यस्ताे राजनीति गराैँ, जसले मरे गएपनि सम्झिरहून् ।’

उनी संसद्‌काे अन्तर्राष्ट्रिय सम्बन्ध सुधार समितिकाे सदस्यसमेत हुन् । अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिबारे समेत जानकारी राख्ने कार्की नेपाल शीतयुद्धमा फस्दै गएकाे विश्लेषण गर्छन् । उसाे त उनले बेला-बेला ‘शान्ति क्षेत्रकाे प्रस्ताव’काे सम्झना पनि गर्दै आएका छन् । राजा वीरेन्द्रले २०३१ सालमा ल्याएकाे शान्ति क्षेत्रकाे प्रस्ताव अब परिस्कृत गरेर अगाडि सार्नुपर्छ भन्ने तर्कसँगै उनी याे भन्न छुटाउँदैनन् कि— ‘तर म राजावादी भने हाेइन ।’

पूर्वमन्त्रीसमेत रहेका कार्की पार्टी राजनीतिकाे मूलधारमा भने खासै देखिँदैनन् । नेतृत्वसँग अधिकांश ठाउँमा पनि फरक मत राख्ने हुनाले पनि उनी खासरूपमा पार्टीकाे काममा नेतृत्वकाे राेजाइमा पर्दैनन् । तर, वैचारिक एवम् प्राज्ञिक काम/कारबाहीमा भने प्रचण्डले कार्कीलाई छाेड्दैनन् । केही समयअगाडि चिनियाँ प्रतिनिधिहरूसँगकाे भेटघाटमा प्रचण्डले कार्कीलाई नै अघि सारेका थिए ।

यी तत्‌तत् विषयहरू त छँदैछन् । याे संवादमा कार्कीलाई वर्तमान राष्ट्रिय राजनीतिसँगै उनीसम्बद्ध पार्टीबारे समेत प्रश्न गरिएकाे छ । उनै कार्कीसँग मकालुखबरका उपसम्पादक धनबल राईले यी यावत् विषयहरूमा कुराकानी गरेका छन् । प्रस्तुत छ संवादकाे सम्पादित अंश:—

०००

‘शीतयुद्ध भड्किँदैछ, नेपालले आफूलाई तटस्थ राख्नुपर्छ’

कार्की नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र कूटनीतिक मामिलामा कमजाेर देखिँदै आएकाे बताउँछन् । नेपाल यता पनि ठिक्क, उता पनि ठिक्क भइरहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाल डरलाग्दाे अलमलमा छ । जुन शक्ति अगाडि आए पनि त्यसकाे अगाडि हाे-हाे भन्ने, म तिम्रै पक्षमा हाे भन्ने । याे हुँदैन । यस्ताेमा नेपालले प्रष्टरूपमा भन्न सक्नुपर्छ कि म तटस्थ बस्छु भनेर । नेपालकाे राजनीतिक दलहरूले पनि सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्काे कुरा गर्ने नाटक गरिरहेका छन् । याे नाटक गर्नुभन्दा नेपालकाे तटस्थतालाई पुन:भाषित गर्नुपर्छ ।’

त्यसअघि उनले भनेका छन्, ‘संसारका दुईवटा ठूला देशहरू; चीन र अमेरिका आमने-सामने भइरहेका छन् । त्यसबीचमा हामी छाैँ । उदाउँदाे शक्ति चीन हाे र चीनलाई ठेगान लगाउँछु भन्ने अमेरिका हाे । र, अमेरिकाकाे रणनीतिक साझेदारकाे रूपमा भारत देखिएकाे छ । फेरि भारत डरलाग्दाे अलमलमा छ अहिले । भारतकाे अन्तर्राष्ट्रिय नीतिचाहिँ यत्ति अलमलमा कहिल्यै पनि थिएन । यसबेला हाम्राे देशचाहिँ एकदमै खतराकाे सम्मुखमा छ । खतरातिर गइरहेकाे छ । बुद्धिमानी यही हुन्छ कि सहमति बनाएर शान्ति क्षेत्रकाे प्रस्ताव अगाडि बढाउनुपर्छ ।’

यी सबै सन्दर्भहरूले मुलुक शीतयुद्धतर्फ धकेलिरहेकाे कार्कीकाे जिकिर छ । प्रत्यक्षरूपमा शीतयुद्ध नदेखिए पनि नेपाल त्यसकाे सम्मुखमा रहेकाे  उल्लेख गर्दै उनी भन्छन्, ‘सबैभन्दा ठूलाे बुद्धिमानी भनेकाे अब नेपालले आफूलाई तटस्थ राख्नुपर्छ । र, छिमेकीलाई भन्नुपर्छ कि हामी यस्ताे हाे भनेर । नभए नेपाल शीतयुद्धमा फस्छ ।’

‘शान्ति क्षेत्रकाे प्रस्ताव अगाडि बढाउनुपर्छ’

‘हाम्राे दुईतिर मिसाइल इनर्जी भएका देशहरू छन्, अब हाम्राे सिरुपाते काम लाग्दैन,’ कार्कीले भनेका छन् ।

अमेरिकी सभामुख पेलाेसीले ताइवान भ्रमण गरेपछि नेपालकै नजिकतिर बारुदकाे गन्ध चल्न थालेकाे बताउँछन् कार्की । यी केही प्रतिनिधि घटना मात्रै भएकाे र त्यसबाट नेपालसमेत असुरक्षित रहने भय भएकाे भन्दै उनी शान्ति क्षेत्रकाे प्रस्तावकाे पक्षमा रहेकाे बताउँछन् । ‘मिसाइलहरू फ्याँकिरहेका छन् । चीनले पनि याे देखाउन काेसिस गरिरहेकाे छ कि— ताइवानलाई चीनबाट अलग गराउने कुनै प्रयास सह्य छैन । दुवै देशहरू पूर्वतयारीमा देखिन्छ । यसले शीतयुद्धचाहिँ भड्किँदै गइरहेकाे छ । अब नेटाेकाे र रुसकाे बीचमा लडाइँ भइरहेकाे छ यूक्रेनमा । हिजाे पनि नेपाल यस्तै सामरिक अप्ठ्याराेमा पर्न लागेकाे अवस्थामा नेपालले शान्ति क्षेत्रकाे प्रस्ताव अगाडि सारेकाे थियाे । भलै त्याे राजाकाे पालामा थियाे, त्याे व्यवस्था फरक थियाे । हामी राजतन्त्रकै विराेधी हाैँ । तर, पनि पूर्वजहरूले हाम्राे देशलाई जसरी जाेगाए, आजभन्दा २/३ सयअगाडि पनि कूटनीति त चल्थ्याे । तर, उहाँहरूले हाम्राे देश जाेगाएकाे सत्य हाे, सम्मान नै गर्नुपर्छ र शान्ति क्षेत्रकाे प्रस्तावलाई अगाडि लानुपर्छ, जसले हिजाेदेखि बचाउँदै ल्याएकाे देशलाई अझै सुरक्षित राख्न सकाेस्,’ उनले भनेका छन् ।

नेपाल अनुदान वा सहयाेगमार्फत् नै शीतयुद्धमा फस्दै गएकाे उनी बताउँछन् । नेपालमा अनुदान हाे भने जस्ताेसुकै पनि लिइदिने प्रवृत्ति माैलाएकाे भन्दै उनले भनेका छन्, ‘नेपालले अब आफ्नाे विकास रणनीति बनाउने र याे याेचाहिँ लिन्छाैँ,  याे याेचाहिँ लिँदैनाैँ भनेर भन्ने हाे । यसरी मात्रै हामी सुरक्षित रहन सक्छाैँ ।’

विकास रणनीति नबन्दा र जस्ताे पनि सहयाेग लिनाले नेपाल शीतयुद्धमा फस्दै गएकाे बताउँदै उनी शान्ति क्षेत्रलाई अब परिस्कृत ढङ्गले अगाडि बढाउनुपर्ने दाेहाेर्‍याउँछन्, भन्छन्—  ‘हिजाे पनि यस्तै सामरिक अप्ठ्याराेमा पर्न लागेकाे बेलामा हाे शान्ति क्षेत्रकाे प्रस्ताव अगाडि बढाइएकाे । अब पुन: यस्तै अप्ठ्याराेमा नेपाल फस्दै छ । त्यसैले अब शान्ति क्षेत्रकाे प्रस्ताव अगाडि बढाउनुपर्छ ।’

‘गणतन्त्रकाे प्राप्तिपछि डरलाग्दाे अलमल शुरू भयाे’

कार्की नेपाली राजनीतिक पार्टी र नेताहरूले एकपछि अर्काे गल्ती दाेहाेर्‍याइरहेकाे आराेप लगाउँछन् । ‘गल्ती यसरी चाङ लागिसक्याे कि अब नसुध्रिए हुँदैन,’ उनी भन्छन् । माओत्सेतुङकाे भनाइ उद्धृत गर्दै उनी थप्छन्, ‘कुनै पनि कुरा अन्तिमसम्म पुगिसकेपछि त्याे फेरि फर्किनैपर्छ । नेपालका पार्टी र नेताहरूले यत्ति धेरै गल्ती गरे कि अब उनीहरू सुध्रिनैपर्छ, फर्किनैपर्छ ।’

पछिल्लाे स्थानीय तह सदस्यकाे निर्वाचनमा जनताले यी गल्तीहरू सुधारून् भनेर धरान र काठमाडाैँबाट सन्देश पठाएकाे उनी सम्झाउँछन् । ‘यहाँ पार्टीहरूले जनतालाई प्रेसर मात्रै दिइरहेका छन् । अब जनताहरू याे स्वीकार्न तयार छैनन् । त्याे प्रेसरलाई थाम्न नसकेर सिठ्ठी बजिसक्याे, त्याे धरान र काठमाडाैँमा देखियाे । कुन दिन हाे, कुकर नै विस्फाेट हुन्छ । त्यसले राजनीतिक दलहरूलाई चुनाैती मात्रै दिँदैन कि, सिद्ध्याउन पनि सक्छ ।’

त्यसअघि उनले भनेका छन्, ‘अहिले त सिठ्ठी मात्रै बज्याे । अब कुन दिन हाे कुकर पनि पड्किन्छ । जस्ताे याेभन्दा पहिले २०३६ कुकुर पड्क्याे, त्यसले एउटा नयाँ विचार ल्यायाे र गणतन्त्रसम्म पुर्‍यायाे । अब गणतन्त्रकाे प्राप्तिपछाडि डरलाग्दाे अलमल शुरू भएकाे छ । कुकर पड्किन सक्छ । त्याे भएर जनतालाई अब धेरै प्रेसर दिनुहुँदैन । उनीहरूले अवज्ञा गर्छन् । त्यसकाे शुरू गत स्थानीय निर्वाचनबाटै भयाे ।’

अहिले कुनै पनि पार्टीसँग केही उद्देश्य नभएकाे बताउँछन् कार्की, ‘जब कुनै कुरा एकदमै अन्तिममा पुग्छ, त्यसपछि त फर्किनैपर्छ । नेपालमा गल्ती यत्ति भइसक्याे कि, अब सुधार हुनैपर्छ । जनताले तिमीहरू सुध्रिनुपर्छ भनेर संकेत गर्न शुरू गरिसकेका छन्  । याे डरलाग्दाे अलमलकाे शृङ्खला अब कहाँसम्म पुग्छ, यसबीचमा राजनीतिक दलहरू सुध्रिएनन् भने जनताले पछार्नेछन् ।’ उनकाे निष्कर्ष छ— याे डरलाग्दाे शृङ्खलाबाट राजनीतिक दलहरूले आफूलाई निकाल्नुपर्छ ।

‘विचार र नेतृत्वका कारण माओवादीमा विचलन आयाे ‘

कार्की माओवादीमा विचलन नेतृत्व र विचार दुवैका कारणले आएकाे मान्छन् । पार्टीमा वैचारिक बहसहरू हुन छाडेकाे र गर्न खाेजियाे भने पनि नेतृत्वबाटै सहज जवाफ नआउने उनकाे अनुभव छ, भन्छन्— ‘क्रान्ति भनेकाे रकेट उडाएजस्तै हाे । एकचाेटी उठाएर छाेड्दा हुन्न । तलबाट विस्फाेट गराइदियाे, त्यसले कति माइल माथिसम्म पुर्‍याइदिन्छ, त्यहाँबाट फेरि अर्काे विस्फाेट हुनुपर्छ । ६३ सालयता ५२ काे विस्फाेटले ल्यायाे, राजतन्त्रलाई ढाल्नेसम्म पुर्‍यायाे । माओवादीले त्यहाँ वैचारिक र रणनीतिक बारुद तयार गरेकै हाे । तर त्यसयता माओवादीले वैचारिक बारुद बनाउन सकेन, माओवादीले त्यसलाई प्राथमिकताकाे विषय पनि बनाएन । अहिले पनि यसाे वैचारिक छलफल गर्न खाेजियाे भने चुनावकाे कुरा गराैँ भन्छन् । यसैले पार्टीलाई वैचारिकरूपमा खुइल्यायाे ।’

नेतृत्व पनि गणतन्त्र स्थापनापछि खासरूपमा परिवर्तनकाे पक्षमै देखिएपनि ठाेसरूपमा त्यसकाे कार्यान्वयनकाे बाटाे नलागेकाे उनी महसुस गर्छन् । ‘अहिले भएपनि हामीसँग उही प्रचण्ड हाे, नभए पनि उही प्रचण्ड । हामीसँग विचार, हतियार, जनसेना केही पनि छैन । त्यसपछि हामीले अगाडि तान्नै सकेनाैँ । त्याे मूलत: नेतृत्वकै कारण हाे । हुन त फेरि पनि नेतृत्वकै मात्रै कारण भन्ने त नहाेला । तर, पनि मूलभूतरूपमा नेतृत्वकै कमजाेरी हाे ।’

अबकाे राजनीति चुनावलाई नभइकन भावी पुस्तालाई हेरेर गर्नुपर्ने दृष्टान्त सुनाउँछन् कार्की, ‘अब यस्ताे नेता चाहिएकाे छ कि चुनावलाई हाेइन नयाँ पुस्ताले हेरेर राजनीति गराेस् । नयाँ पुस्ताकाे निम्ति साेचाेस् । याे चुनावमा कसलाई कसरी पछार्नेभन्दा पनि नेपाली जनतालाई विजयी बनाउने कुराबारे साेचाेस् । हाम्राे नयाँ पुस्ताले फेरि त्याे मरुभूमिमा गएर २० घण्टा खट्न नपराेस् भन्ने नै हाे मुख्य मुद्दा । अबकाे राजनीतिकज्ञले यसबारे नसाेचे त्याे राजनीति बेकार हुन्छ ।’

सत्तामै बस्ने तर, भिजन भने शून्य हुने चलन बढेकाेप्रति कार्की दिग्दार छन् । शेरबहादुर देउवाकाे उदाहरण दिँदै उनी भन्छन्, ‘जत्ति वर्ष सत्तामा रहेपनि नहुने रहेछ नि । शेरबहादुरजी सरकारमा रहनुभएकाे कति वर्ष भयाे । तर कांग्रेसले अझै बीपीकै नाम बेच्नुपरेकाे छ । त्यही शेरबहादुरजीकाे बेच्दा हुँदैन ? बीपी त जम्मा डेढ वर्षका लागि बन्नुभएकाे हाे प्रधानमन्त्री । तर, आज पनि कांग्रेसले उनैकाे नाम बेच्नुपरेकाे छ । याे दुखद् हाे । यसैबाट सबै कुराहरू छर्लङ्गै हुन्छ ।’

‘जनताले झापा १ नै बाेलाएका छन्’

आसन्न निर्वाचनमा कहाँबाट चुनाव लड्नुहुन्छ ? भन्ने प्रश्नमा कार्कीले भने— झापा १ । ‘मलाई झापा १ कै जनताले जिताउनुभएकाे हाे । अहिले कुरा गरिरहेकाे छु । २ हप्ताअगाडि पनि गएकाे थिएँ । मैले त्यहाँका मेरा शुभिचन्तकहरूसँग कुराकानी गरेँ । अब फेरि जान्छु । उहाँहरूले के भन्नुहन्छ; याे चुनाव-सुचाव लड्ने काम नगर भन्नुहुन्छ भने म मान्न तयार छु । तर, अहिलेसम्म चाहिँ मलाई तपाईंले तयारी गर्नुस् भन्ने कुरा गर्नुभएकाे छ । आफूले जितेकाे ठाउँ, तपाईंले त्यसै छाेड्न हुँदैन भनेर भन्नुभएकाे छ । यहाँबाट भाग्न मिल्दैन भनेर भन्नुभएकाे छ । त्यसैले म यहीँबाटै लड्ने तयारीमा छु ।’

उसाे त माओवादी केन्द्र पनि वर्तमान पाँचदलीय गठबन्धनकाे एउटा प्रमुख घटक हाे । उक्त क्षेत्रबाट गठबन्धनकाे तर्फबाट लड्नेगरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि तयारी गरिरहेका छन् । २०७४ सालकाे निर्वाचनमा पनि साेही क्षेत्रमा कार्की-शर्माबीच चुनावी प्रतिस्पर्धा भएकाे थियाे । जसमा शर्मा पराजित भएका थिए । अब यसपटक भने उनीहरूबीच एकजना मात्रै त्यहाँ उम्मेदवार हुनेछन्, किनकि कांग्रेस-माओवादी एकैठाउँ छन् । त्यसमा शर्माले पनि साेही क्षेत्रबाट उठ्ने घाेषणा नै गरिसकेका छन् । तर उनकाे लागि अन्य विकल्पहरू भएकाे बताउँछन् कार्की । ‘विश्वले पनि त्यहाँ बुझ्दै हुनुहुन्छ । आकलन गर्दै हुनुहुन्छ । हिजाे हामी दुईवटा कित्ताबाट बडाे मित्रतापूर्वक लडेका थियाैँ भने अहिले त एउटै गठबन्धनमा छाैँ । स्वाभाविकरूपमा हाम्राे कुराकानी हुन्छ । दुईजनाले नै बुझिसकेपछि हामी कुराकानी गर्छाैँ । अहिलेसम्म चाहिँ उहाँ आफैँ पराजित भइसक्नुभएकाे हुनाले जाेखिम लिन हुँदैन, तपाई‌ंले यहाँबाट जाेखिम नमाेल्नुस्, एमाले दह्राे देखिएकाे छ भनेर पनि उहाँलाई जनताले सुझाव देलान्, मलाई पनि देलान् । हामी मिलेर अगाडि जान्छाैँ,’ उनले भनेका छन् ।

तर, शर्माका लागि झापामै वा अन्य ठाउँ पनि विकल्प रहेकाे उनकाे भनाइ छ । ‘चिठ्ठा हानेर त हुँदैन हाेला । अब हिजाे जितेकै ठाउँमा उनीहरूलाई नै पठाउने भन्ने हाेला । त्याे पनि एउटा आधार बन्ला । यदि मैले त्यहाँबाट लडेँ भने विश्वसँग थुप्रै विकल्पहरू छन् । झापामै पनि विकल्प छ र अन्त्य पनि छ । हामी जे हाेस् कुरा गर्छाैँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.