नेपालमै ई–भोटिङ मेसिन बनाएका दाजुभाइ भन्छन्- हाम्राे उत्पादनमा निर्वाचन आयोगले चासाे दिएन

काठमाडौँ । राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (ई–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र राम लक्ष्मण दाजुभाइको पाँचौँ संस्करण हो ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी ई–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौँदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दाबी गरिएको छ ।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको ई–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न सङ्घ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए । यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे ।

त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर ई–भोटिङ मेसिनमा औँलाले दबाउने भएकोले छिटो हुने दाबी गरे ।

उनले अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौँसम्म कुर्न नपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *