पशु चिकित्सा विधेयकमा सत्तारूढ दलका सचेतककै असन्तुष्टि

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्पष्टता रहेको भन्दै संशोधनको माग गरेको छ ।

बुधवार प्रतिनिधिसभामा प्रस्तुत प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको विधेयकको प्रतिवेदन उपरको छलफलमा भाग लिँदै कांग्रेसका सचेतक मीन विश्वकर्माले विधेयकको नाम, क्षेत्राधिकार र विशिष्टीकृत वर्गीकरणमा समेत संशोधन प्रस्ताव राखेका छन् ।

अन्यथा, पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरूमा क्षेत्राधिकारबारे दुविधा उत्पन्न हुन सक्ने उनको भनाई छ । कार्यक्षेत्रका साथसाथै, व्यवसायमा अन्यौलता र सेवा प्राप्त गर्नेहरूमा समेत अस्पष्टता रहन सक्ने भएकाले संशोधन आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘त्यस कारण यो विधेयकको नाममा, केही क्षेत्राधिकारमा र विशिष्टीकृत वर्गीकरणमा पनि केही संशोधन गरियोस् भन्ने माग गर्दछु ।’

कांग्रेस सचेतक विश्वकर्माले विधेयकमाथि संसद्मा व्यक्त गरेको विचार

अहिले आइराखेको विधेयकले केही अस्पष्टता गर्‍यो कि ! त्यसैले म माननीय मन्त्रीज्यूसँग अनुरोध गर्न चाहन्छु– हामीसँग पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ छ । सँगसँगै हामीसँग पशु चिकित्सा परिषद् पनि छ । त्यो चिकित्सा परिषद्ले चिकित्सकहरूको योग्यता तोकेको छ । त्यसमा यो विषयमा विषयगत विज्ञता र स्नातक वा स्नातकोत्तर गरेको व्यक्तिलाई हामीले चिकित्सक मानेका छौँ ।

अहिले आएको यो विधेयकले फेरि पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने कुरा ग¥यो । र यसले फेरि जोडेर भन्यो – स्नातक वा स्नातकोत्तर गरेको व्यक्तिलाई पनि एकै ठाउँमा राख्यो ।

पशु व्यवसाय गर्ने पनि, पशु स्वास्थ्यको ज्ञान भएको पनि र पशु स्वास्थ्यको सेवा दिइराखेको प्राविधिक ३५ दिने तालिम लिने पनि, ६ महिने तालिम लिने पनि, १८ महिने तालिम लिने पनि, ३ वर्ष तालिम लिने पनि, स्नातक र स्नातकोत्तर गरेकोलाई पनि एउटै कार्यसूचीमा राखेको देखिन्छ । त्यस कारण केही अस्पष्टता छ । विधेयक आवश्यक छ । तर, यसको क्षेत्राधिकार, काम गर्न क्षेत्र प्रिसकाइप, सबैले प्रिसकाइप गर्न खोज्यो भने, पायो भने यसले थप अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ ।

त्यस कारण यसको नाममा नै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् भन्नुको सट्टा पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक परिषद् बनाउँदा कसो होला रु यो प्राविधिकहरूको, तालिम लिएर गएका मानिसहरूको भयो भने कम्तीमा जसरी नेपाल मेडिकल काउन्सिल छ, चिकित्सकहरूको काउन्सिल छ, नर्सिङ काउन्सिल छ त्यसै गरी स्वास्थ्यकर्मी सङ्घ छ ।

मानिसहरूको स्वास्थ्यका बारेका, त्यसै गरी पशु स्वास्थ्यको बारेमा पनि पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरू । यसरी एउटा वर्गीकरण गरेर क्षेत्राधिकार पनि स्पष्ट पार्यौं भने यसले दुविधा हुँदैन, कार्यक्षेत्रमा पनि दुविधा हुँदैन, उनीहरूको व्यवसायमा पनि अन्यौलता हुँदैन र सेवा प्राप्त गर्ने, सेवा ग्रहण गर्नेहरूको लागि पनि स्पष्टता हुन्छ ।

त्यस कारण यो विधेयकको नाममा, केही क्षेत्राधिकारमा र विशिष्टीकृत वर्गीकरणमा पनि केही संशोधन गरियोस् भन्ने माग गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *