‘चिन्डो अभियन्ता’ अर्जुन खालिङ बाँचेका भए यसकाे प्रयोग र व्यापारिकरणबारे के भन्थे हाेला ?

चिन्डोको प्रयोग र व्यापारिकरणको बारेमा हिजो, आज जो विवाद भइरहेको छ, चिन्डो अभियन्ता अर्जुन खालिङ बाँचेका भए के भन्थे होलान् ? उनको धारणा के हुन्थ्यो होला ? भन्ने मलाई लागिरहन्छ ।

धार्मिक कर्मकाण्डमा मात्र सीमित चिन्डोलाई साकेला चाडमा (टुँडिखेलबाट) गालामा पोत्न शुरू गरेर कलाले कुँद्ने प्रथम कलाकार अर्जुन खालिङ हुन् । कुची र रङले चिन्डोलाई सिङ्गारेर क्यान्भासमा उतार्ने पनि उनै हुन् । यस अर्थमा किराती सांस्कृतिक सामाग्रीलाई कलाको माध्यमबाट आम जनमानसमा स्थापित गर्ने ऐतिहासिक काम खालिङले नै गरेका हुन् ।

किरात राई लेखक सङ्घको प्लाट्फर्मबाट ‘कवितामा चिन्डो चिन्तन’ जस्ता साहित्यिक कार्यक्रम सम्पन्न गरेर साहित्यको माध्यमबाट चिन्डोलाई व्यापक बनाउन लेखक सङ्घले पनि अहम् भूमिका खेलेको इतिहासमा दर्ज भइसकेको छ । यस कार्यक्रमको नेतृत्व पनि उनैले गरेका थिए ।

प्रथम चिन्डो अभियन्ता अर्जुन खालिङले के सोचेर चिन्डो अभियान शुरू गरेका थिए ? के थियो उनको उद्देश्य ? चिन्डोको बारेमा के थियो उनको धारणा ? यसबारेमा छलफल, बहस गर्ने हो भने अहिले भइरहेको धेरै विवाद समाधान भइहाल्छ । तर, उनलाई सम्झने हामी कसैलाई फुर्सद छैन । हामी जो टुप्पाबाट पलाएका न पर्‍याैँ ।
जरा थाहा नपाएपछि टुप्पालाई समस्या त हने नै भो ।

फेसबूकमा अस्वस्थ आरोप-प्रत्यारोपमा उत्रनुभन्दा सर्वप्रथम चिन्डोको प्रयोगको बारेमा हाम्रा मान्छेलाई सुसूचित गर्नु जिम्मेवार अभियन्ताको जिम्मेवारी हुन आउँछ । हाम्रा मान्छेलाई चिन्डोको महत्त्व, महिमा र गरिमाको बारेमा जानकारी दिनुपर्छ । चिन्डोको साडी लाउने हाम्रै मान्छे हुन् । उहाँहरूले गलत नियतले अवश्य लगाउनुभएकाे छैन । बरु आफ्नै कुरा लगाऊँ, स्थापित गराैँ भन्ने उहाँहरूको उद्देश्य हुनसक्छ । लाउनेले नलाइदिएपछि व्यापारीले नि बेच्ने कुरा आएन । त्यसैले व्यापारी र साडी लाउनेसँग जुवारी खेल्नुको कुनै तुक छैन ।

साहित्यकार भूपाल राई र मुन्दुमविद् भोगी चाम्लिङले भन्नुभएझैँ सांस्कृतिक ‘लङ मार्च’को हामीलाई जरुरी छ । वैचारिक-सांस्कृतिक सचेतना र जागरणको आवश्यकता छ । सुम्निमा महिला सङ्घले गरेजस्तो वैचारिक कार्यक्रमहरूको अझै धेरै आवश्यकता छ । त्यतातिर हामी केन्द्रित भयाैँ भने सारा टाउको दुखाइ विस्तारै ठीक हुन्छ ।

अभियन्ता हाैँ भन्नेले गाली गरिरहने, व्यापार गर्नेले बेचिरहने र लाउनेले लाइरहने तरिकाले चाहिँ हामी-हामीबीच मुख कालो बनाउनु, मनमुटाव गर्नु र शत्रुता बढाउनुभन्दा केही प्राप्ति हुँदैन । त्यसैले सबैभन्दा जिम्मेवार अभियन्ताहरू हुन जरुरी छ । माग भएपछि व्यापार बढ्नु अर्थशास्त्रको सामान्य नियम हो । तपाईं, हाम्रो विरोध र ध्व‌ंसले बजारको राैँसम्म हल्लिने छैन ।

प्रतिक्रिया

One thought on “‘चिन्डो अभियन्ता’ अर्जुन खालिङ बाँचेका भए यसकाे प्रयोग र व्यापारिकरणबारे के भन्थे हाेला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *