चाेरी भएर अमेरिका पुगेका टुँडाल लगायत पुरातात्त्विक वस्तु नेपाल फर्काइयाे

काठमाडौँ । नेपालबाट हराएर अमेरिका पुगेको १४ औँ शताब्दीतिर बनेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ ।

पुरातात्त्विक महत्त्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ ।

त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११ औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ । शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।

दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ ।

उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेस गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिए ।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट १ थान, अमेरिकाबाट २५ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ , जर्मनी, इटालियन नागरिक र युरोपियन नागरिकबाट १–१ थान गरी जम्मा ८९ थान मूर्तिहरू नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *